- दुर्गा सुवेदी
अख्तियार प्रमुख आयुक्त हुन ‘लोकमानसिंह कार्कीको योग्यता पुग्दैन, उनी अयोग्य हुन्’ भनेर मुद्दा परेको थियो । जनआन्दोलन दबाउने काममा पनि सक्रिय भएकाले उनलाई अयोग्य भनिएको थियो। तर, न्यायाधीश गोपाल पराजुलीलगायतको इजलासले उनलाई चोख्याइदिएपछि यसमा पुनरावेदन परेको थियो। तत्कालीन प्रधानन्यायाधीश सुशीलाले यो मुद्दालाई निस्सा दिएर पुनरावलोकनमा पठाएकी थिइन्। लोकमानको अयोग्यतामाथि फेरि बहस हुन लागेको र उनलाई महाभियोग लगाउनुपर्ने भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा गोविन्द केसीको नेतृत्वमा आन्दोलन सुरु भइसकेको थियो। त्यो बेलादेखि नै लोकमानले प्रधानन्यायाधीशलाई आफ्नो प्रभावमा पार्न अनेक ‘तिकडम’ गर्न थालेका थिए ।
सुशीलालाई यो मुद्दाबाट कसरी हटाउने भनेर सोच्दा नाता–सम्बन्ध कायम गराउने उपाय खोजेछन् । आफ्नो नातामा पर्नेको मुद्दा ती न्यायाधीशले हेर्न पाउँदैनन्। लोकमान र सुशीला दुवै विराटनगरका कार्की। लोकमानले यही फेरो समाएर सुशीलालाई ‘दिदी’ नाता लगाउन खोजे ।
एकपटक म कांग्रेसका एक नेतासँग आनन्द अरुणको ओसो तपोवन गएको थिएँ। त्यहाँ लोकमान पनि रहेछन्। उनले मेरा अगाडि आएर टाउको निहु-याए। मलाई त एकछिन के गरौं, कसो गरौं जस्तो भयो। न उनी मेरो सालो, न हाम्रोमा त्यसरी टाउको निहु-याउने चलन। तैपनि, कसैले टाउको झुकाइसकेपछि आशीर्वाद त दिनुप-यो । मैले उनको टाउकोमा हात राखिदिएँ । पछि थाहा भयो, त्यसबेला लोकमानसँग सहमति गराउन भनेर मलाई तपोवन लगिएको रहेछ।
यसअघि लोकमान एकपटक आफन्त जम्मा गरेर सुशीलाको घर विराटनगरसमेत पुगेका थिए । सुशीलाका भाइलाई सँगै लिएर उनले ८५ वर्षीया आमाका खुट्टा समाएछन् । त्यसपछि प्रधानन्यायाधीश सुशीला कार्कीकी आमाले लोकमानलाई आशीर्वाद दिनुभयो भनेर हल्ला चलाइयो ।
आमालाई विराटनगरमा भेटरे फर्केपछि सुशीलालाई भेट्ने भनेर भाइलाई समेत लिएर लोकमानको टोली प्रधानन्यायाधीश निवास गेटमा गाडी राखेर भित्र छि¥यो । सुशीलाजीकै भाइलाई देखेपछि ड्युटीमा रहेका सैनिकले पनि सहजै उनीहरुलाई प्रवेश दिए । मैले देखिहालें । तुरुन्तै तल झरेर त्यो टोलीलाई कम्पाउन्डमै रोकें । उनीहरु भित्र छिरेको भए के हुन्थ्यो भन्ने मलाई थाहा थियो। मैले घरभित्र जान नदिएपछि उनीहरुले ‘लोकमानजीले दिदीको गोडा धोएको पानी खाने भनेकाले हामी त्यही कामका लागि आएका हौं’ भने।
मलाई अचम्म लाग्यो । टोलीमा आएको एकजनाले मलाई सुनायो– चाँदीको खड्कुलोमा राखेर गोडा धुने रे । अर्कोले मलाई छेउमै बोलाएर भन्यो– बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ। पछि सैनिकले लोकमानको टोलीलाई बाहिर निकालिदिए । चाँदीको खड्कुलो र १० करोड रुपैयाँ गोडधुवासहित उनीहरु त्यहाँबाट फर्किए।
(पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका पति दुर्गा सुवेदीले लेखेको पुस्तक 'विमान विद्रोह'बाट)
प्रतिक्रिया दिनुहोस