तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष यान चिनहाईलाई ‘भरतपुर भ्रमण वर्ष २०२४’ को निमन्त्रणा

सफल खबर संवाददाता

शनिबार, २० साउन २०८०, ०९ : २३
तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष यान चिनहाईलाई ‘भरतपुर भ्रमण वर्ष २०२४’ को निमन्त्रणा

लासा । मित्र राष्ट्र चीनको तिब्बत प्रान्तको भ्रमणमा रहेकि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष यान चिनहाईलाई भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक निमन्त्रणा दिएकी छिन ।

शुक्रबार साँझ तिब्बतको राजधानी लासामा आयोजित विशेष कार्यक्रममा प्रमुख दाहालले निमन्त्रणा–पत्र प्रदान गरिन । अध्यक्ष यान चिनहाई नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटघाटको क्रममा प्रमुख दाहालले नेपाल र चीनसँगको सम्बन्ध र तिब्बतको लासासँगको साँस्कृतिक र राजनीतिक सम्बन्धको बारेमा चर्चा गर्दै भरतपुर र तिब्बत बीचको पारस्परिक हित र समग्र  विकासको बारेमा महामहिम अध्यक्षलाई स्मरण गराएकी थिइन । 

सो अवसरमा अध्यक्ष यान चिनहाईले नेपालको स्थानीय सरकारको  प्रमुखको रूपमा पहिलो पटक स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे । चीन नेपालको एक असल छिमेकी रहेको र नेपाल र नेपाली जनताको बृहत्तर हितमा सधै लागिरहने विश्वास व्यक्त गरेका थिए । अध्यक्ष यान चिनहाईले चीन सरकार र नेपाल सरकारका उच्च पदस्थ प्रतिनिधिहरूको आपसी भेटघाटले नेपाल र चीन बीचको जनस्तरको सम्बन्धलाई थप उचाईमा पु¥याएको बताउदै उनलेे नेपालले विश्व मञ्चमा एक चीन नीतिको पक्षमा  दृढ धारणा राख्दै आएकोमा नेपाल सरकार र नेपाली जनतालाई तिब्बत प्रान्त र चिनियाँ सरकारको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।

भेटघाटमा महामहिम यान चिनहाईले भरतपुर महानगरपालिकाले वर्ष २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा उत्सवको रूपमा मनाउन लागेकोमा खुसी व्यक्त गर्दै वर्ष २०२४ मा समय मिलाएर आफु भरतपुर आउने बताउँदै तिब्वती नागरिकलाई नेपाल र भरतपुरको भ्रमण गर्न प्रेरित गर्ने बताए । भेटका क्रममा चीनले नेपालसँग सीमा जोडिएको सबै नाकाहरू छिट्टै खोली आवात–जावत र व्यापार  आदन प्रदानलाई सहज बनाउदै लैजाने नीति चीनले लिएको बताए ।

महामहिम यान चिनहाईले भरतपुरले तिब्बतको सिगात्से सहरसँग भगिनी सम्बन्ध कायम गरी जनस्तरको सम्बन्धलाई थप सुदृढ गरेको बताउदै भरतपुरले सिगात्सेको लागि पशु आहार साईलेज प्रदान गरेको प्रति महानगर प्रमुख दाहाल र भरतपुरका जनताप्रति आभार व्यक्त गरेका थिए ।

सो अवसरमा भ्रमण दलको तर्फबाट भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल र चीनबीच समयसमयमा हुँदै आएका उच्चस्तरीय भ्रमण आदानप्रदान दुई देशबीच रहिआएको घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्धको एउटा विशेष आयाम भएको उल्लेख गरिन । नेपाल सँधै एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेको बताउदै प्रमुख दाहालले नेपाल र चीनबीच रहिआएको सम्बन्ध जनस्तरमा समेत प्रगाढ बनाउन भरतपुर महानगर र तिब्ब्तको सिगात्से सहरबीच भागिनी सम्बन्ध स्थापनाको कार्य अघि बढेको उनको भनाई थियो ।

भागिनी सम्बन्ध विस्तार भएपछि दुवै महानगरहरुले जनताको जीवनस्तर सुधार्ने सम्बन्धमा एक आपसमा अनुभव र क्षमता आदान प्रदान हुने अपेक्षा लिएको उनले प्रस्ट्याइन । साथै उनले आर्थिक सामाजिक क्षेत्रमा हुने सहकार्यबाट आयात निर्यात तथा व्यापरिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गरिन । चीनको तिब्बत सरकारले नेपाल सरकारलाई निरन्तर प्रदान गरी रहेको आर्थिक प्राविधिक सहयोगको पुन स्मरण गर्दे भरतपुर महानगरको विकासमा समेत थप अर्थिक प्राविधिक सहयोगको लागी अनुरोध गरेकी थिइन । साथै भरतपुरमा चीनीया लगानी बढाउन र भरतपुर महानगरले घोषणा गरेको भरतपुर भ्रमण बर्ष सन २०२४ लाई सफल बनाउन चिनिया पर्यटकलाई नेपाल र भरतपुर महानगरपालिका भ्रमण गर्न अभिप्रेरित  गराउने कार्यमा महामहिमको सदभावको अपेक्षा गरिन ।

शुक्रबार साँझ उच्त स्तरीय भेटघाटपछि महामहिम यान चिनहाईले  नेपाली प्रतिनिधि मण्डलको सम्मानमा रात्री भोजको आयोजना गरेका थिए ।  रात्रीभोजमा उपाध्यक्ष चेन योङ्गकी, सचिवलाई हङजुन, कृषि विभागका निर्देशक जाना हाईबो, सिगात्से सिटीका मेयर वाङपमङहङ लगायतको उपस्थिति रहेको थियो । भने नेपाली प्रतिनिधि मण्डलका उपमेयर चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नेरन्द्र राना, प्रेस विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारी, विज्ञ सल्लाहकार अनिल कुमार पाठक र ईन्जिनिर साकार लामाको उपस्थिति रहेको थियो ।

उच्च स्तरिय भेटघाटमा लासा स्थित नेपाली महावाणिन्ज्य दुत नवराज ढकालको समेत सहभागिता रहेको थियो । 
यस्तै उच्चस्तरीय भेटघाटअघि भरतपुर महानगर प्रमुख दाहाल नेतृत्वको प्रतिनिधि मण्डललाई महावाणिज्य दुत नवराज ढकालले लासास्थित दुतावास भवनमा स्वागत गरेका थिए । सो अवसरमा वाणिज्य दुतावासले तिब्बत प्रान्तमा नेपाल र नेपाली जनताको हितमा गरेका कामहरू र लासा सहरको बारेमा जानकारी गराएका थिए ।भेटका क्रममा महानगर प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ लाई तिब्वती नागरिकहरूलाई  भ्रमण वर्ष सफल बनाउन भूमिका खेल्न आग्रह गरेका थिए ।

चीनको स्वसासित क्षेत्र तिब्बतको भ्रमणमा रहेका प्रतिनिधि मण्डलले लासा सहरको ऐतिहासिक धरोहर पुतला दरबार बार्किड्ग स्टेट लगायतका स्थानहरूको अवलोकन गरेको भरतपुर महानगरपालिकाका प्रेस विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताए  । यस अघि यो प्रतिनिधि मण्डलले सिगात्से सहरको भ्रमण गरी सेकेको छ ।