भरतपुर भ्रमण वर्ष : गाडी भाडामा विशेष छूट घोषणा, पहिलो चरणमा रिङरोडमा मात्रै लागू हुने

सफल खबर संवाददाता

विहीबार, ०६ असार २०८१, १४ : २७
भरतपुर भ्रमण वर्ष :  गाडी भाडामा विशेष छूट घोषणा, पहिलो चरणमा रिङरोडमा मात्रै लागू हुने

भरतपुर । भरतपुर भ्रमण वर्ष–२०२४ लाई लक्षित गरी यातायात व्यवसायीहरुले गाडी भाडामा विशेष छूटको घोषणा गरेका छन् । गोन्द्राङदेखि केन्द्रीय बसपार्क हुँदै चौबीसकोठी–पुलचोक–आँपटारी–बसपार्क चोक (रिङरोड)मा चल्ने सार्वजनिक सवारीसाधनको भाडामा ६८ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क र अन्य सर्वसाधारणलाई ४० प्रतिशत छूट दिने व्यवसायीहरुले घोषणा गरेका हुन् ।

चितवन छहारी यातायात सेवा प्रालिका अध्यक्ष बद्रिप्रसाद पौडेलले पहिलो चरणमा रिङरोडमा मात्रै छूट व्यवस्था लागू गरिएको बताए । भरतपुर भ्रमण वर्षलाई सफल बनाउन गाडी भाडामा विशेष छूटको घोषणा गरिएको उनले बताए । ‘यो सुरूवात हो । सुरूवात गर्दा सानो घेराबाट सुरू गरेर कार्यान्वयन गरौँ भनेर लागिएको हो’, उनले भने, ‘यहाँ चल्ने गाडीमा देशभरका मान्छे चढ्ने गर्छन् । छूटको व्यवस्थालाई बिस्तारै महानगरभरि लागू गर्छाैं ।’

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गाडी भाडामा छूट दिने व्यवस्थालाई महानगरभर विस्तार गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरिन् । रिङरोडमा चल्ने सवारीसाधनमा छूट दिने घोषणा गरेर राम्रो सुरूवात गरेको उनले बताइन् । ‘पश्चिम चितवन र माडीबाट भरतपुर आउने गाडीको भाडामा समेत छूट दिनुप¥यो’, उनले भनिन्, ‘महानगरभित्र प्रवेश गर्नेबित्तिकै गाडी भाडामा छूट गर्दा राम्रो हुन्छ ।’

भ्रमण वर्षलाई सफल बनाउन महानगरले विभिन्न गतिविधि गर्दै आएको उनले बताइन् । श्री एयरलायन्सले बिहीबारदेखि भरतपुर–काठमाडौँ परीक्षण उडान गर्न लागेको भन्दै उनले दुईवटा कम्पनीका जहाजले उडान सुरू गरेपछि हवाई भाडासमेत घट्ने विश्वास व्यक्त गरिन् । बुद्ध एयरले लिँदै आएको भाडा अचाक्ली भएको उनले बताइन् ।

भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रबाट जति सहयोग हुनुपर्ने हो त्यति हुन नसकेको उनले दोहो¥याइन् । निजी क्षेत्रबाट अझ धेरै प्रयासको अपेक्षा गरेको भन्दै उनले भ्रमण वर्षलाई लक्षित गरी भरतपुरमा ४८ भन्दा बढी कार्यक्रम आयोजना भइसकेको बताइन् । महानगरले घुम्नका लागि गन्तव्यस्थल पनि बढाइरहेको छ । दियालो बङ्गलालाई छिट्टै खुला गरिने उनको आश्वासन थियो ।

भरतपुर महानगरका पर्यटन विज्ञ विश्व सुवेदीका अनुसार भरतपुरमा सातवटा प्रमुख पर्यटकीय गन्तव्य र २१ वटा पर्यटकीय गन्तव्य रहेका छन् । पर्यटकीय गन्तव्यसम्म पुग्ने पर्यटकलाई गाडी भाडामा छूट व्यवस्थाले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । भ्रमण वर्षको अवधि सकिन छ महिनामात्रै बाँकी रहेको भन्दै सफल बनाउन सबै लाग्नुपर्ने उनले बताए । भ्रमण वर्षमा पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भरतपुर भिœयाउने भरतपुर महानगरको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस