- विनोद त्रिपाठी
हिन्दी फिल्मका महानायक अमिताभ बच्चनले तीन वर्षअघि एउटा ट्विट गरेका थिए, ‘मलाई भारतीय पुरुष भन्न लाज लागिरहेको छ ।’ उनको भनाइ दिल्लीमा भएको एक बलात्कार काण्डप्रति लक्षित थियो ।
विश्व तथ्यांकलाई हेर्ने हो भने बलात्कारका घटना घट्ने देशको सूचीमा भारत टप टेनभित्र पर्छ । महिलामाथि अत्यधिक हिंसा हुने देशमा अफ्रिकाका सुडान र रुवान्डा पर्दछन् । यसकै हाराहारीमा भारतभित्र बलात्कारका घटना हुने संयुक्त राष्ट्रसंघले जनाएको छ । भारतका २९ वटा राज्यमध्ये सबैभन्दा बढी बलात्कार हुनेमा उत्तर प्रदेश, बिहार, झारखण्ड, पश्चिम बंगाल र दिल्ली हुन् । सुसंस्कृत र सभ्यतामा केरला र मिजोरम राज्य पर्छन् ।
यी दुई राज्यमा त ९९ प्रतिशत मानिस शिक्षित र सभ्य छन् । यो युरोपको तुलना बराबर हो । आर्थिक रूपमा पञ्जाबलाई अहिलेसम्म भारतको कुनै राज्यले उछिन्न सकेको छैन । अपराधमा महाराष्ट्र नम्बर एकमा छ । हामी त्यहि देशका नागरिक हौँ जहाँ हरेक मिनेट बलात्कारका घटना हुने देशको छिमेकमा छौँ । उत्तर प्रदेश र बिहार संसारकै घृणित बलात्कारको क्षेत्रमा पर्छ ।
महिला हिंसाका दृष्टिकोणले बंगलादेश र पाकिस्तान भारतकै गुरु हुन् । यी दुई देशमा महिलाको जीवन नारकीय छ । बंगलादेश र पाकिस्तानमा महिलाहरू राजनीतिमा आउँछन् मात्रै, तर घर, परिवार र समाजमा महिलाले पशु बराबर पनि अधिकार पाउँदैनन् । दिनभरि नेता बनेर हिंसाविरुद्ध भाषण गर्ने तिनै महिलाहरू रातभरि पुरुषबाट कुटिएका, बलात्कृत भएका घटना बंगलादेश र पाकिस्तानमा सामान्य हुन्छन् ।
छिमेकी त्यस्तो पाठशाला हो, जसको प्रभाव तुरुन्त फैलिहाल्छ । झन् ठूलो छिमेकीको असर सानालाई तुरुन्त छोपिहाल्छ । घर वरिपरिको वातावरण राम्रो भएन भने त्यसबाट परिवारले राम्रो शिक्षा कहिल्यै पाउँदैन । भारतले आफ्नो अपराध र बलात्कार नियन्त्रण गर्न सकेको छैन । अपराध घटाउन अर्बौं खर्चदेखि मृत्युदण्डका प्रावधानको भारतले प्रयोग गरिरहेकोे छ ।
तर, भारत विश्वमै अपराधको केन्द्र बन्दै गएको छ । दिल्लीलाई त बलात्कारको राजधानी नै भनिन्छ । सार्वजनिक बसदेखि रेल र घरघरमा बलात्कारका घटना सेकेन्ड सेकेन्डमा दिल्लीले बेहोरिरहेको छ । दुई महिनाअघि उत्तर प्रदेशको गाउँमा एक महिला सबैका अगाडि सामूहिक बलात्कृत भइन् । त्यो घटनामा कुनै गाउँलेले प्रतिवाद गरेनन् । निकै पाशविक थियो घटना ।
त्यस्तै, केहि दिनअघि मात्रै झारखण्ड राज्यको टाटा हाइवेमा बच्चाकी आमालाई बलात्कार गरियो । चार वर्षे बच्चालाई पेस्तोल ताकेर भएको त्यो बलात्कारको घटना विश्वभरका सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए । निकै पाशविक र अक्षम्य अपराधपूर्ण थियो त्यो बलात्कारकाण्ड । घर, टोल, स्कुल, कलेज, कार्यालय जहीँतहीँ बलात्कार हुने गर्छ भारतका अधिकांश स्थानमा ।
भारतको एक तथ्यांकअनुसार, २२ लाख मुद्दा मध्ये आठ लाख बलात्कारका मुद्दाहरू अझै विभिन्न अदालतमा रोकिएका छन् । कति पीडकको मृत्युपछि मात्र अदालतले फैसला सुनाउने गरेका छन् । भारतको सीमित रंगमञ्च घेराभित्र मात्र महिलाले आफ्नो सिर्जना र क्षमतालाई उपयोग गरेका छन् । भारतको बाहिरी दुुनियाँ महिलाका लागि हरेक सेकेन्ड काल बनेर र्याल चुहाइरहेको छ ।
हरेक दिनका भारतका सञ्चारमाध्यममा कुनै न कुनै बलात्कारका घटना प्राथमिकतासाथ संप्रेषित भएको हुन्छ । भारतको सोझो असर नेपालभित्र नराम्रोसँग परिरहेको छ । सूचना र प्रविधि नहुँदा भारतमा हुने बलात्कारका घटना नेपालभित्र फैलिन पाएको थिएन । तर, अहिले नयाँनयाँ तरिकाका बलात्कारका घटना नेपालभित्र प्रवेश गरिरहेको छ ।
अपहरण, एसिडको प्रयोग, बालिकामाथिको अपराध, महिलामाथि हुने सौदाबाजी, नांगो तस्बिर खिच्ने विकृति, सेक्स भिडियो खिचेर गर्ने अपराध र महिलाको सामाजिक स्वतन्त्रता माथिको प्रहार लगायतका कुकृत्यपूर्ण विकृति भारतबाट नेपाल छिरेका आपराधिक शैली हुन् । सूचना र प्रविधिको पहुँच हुनुभन्दा पहिले नेपालमा यस्ता प्रकारका अपराध भएकै थिएनन् । ०५० सालअघि भारतबाट खासै अपराधका च्यानलहरू प्रवेश गर्दैनथे ।
त्यतिवेला नेपालभित्र हुने सामान्य घरेलु हिंसाबाहेक जघन्य अपराधले नेपाली समाज आक्रान्त थिएनन् । तर, अहिले नेपाली समाजका हरेक पुरुष हिंसाबाट ग्रस्त छन् कि झै गरी दैनिक बलात्कारका घटना घटिरहेका छन् । यसको मूलकारण भारतबाट आयातित अपराध र बलात्कारका कनेक्टिभिटी क्राइम एक्टिभिटिज हुन् ।
कारण नं. १ महिला स्वतन्त्रतामा रोकः मानिसका लागि स्वतन्त्रता ठूलो अधिकार हो । प्रत्येक व्यक्तिका लागि खान, बस्न, लाउन, शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायतमा स्वतन्त्र अधिकार छ । यसमा कुनैको हस्तक्षेप वा आदेश चल्छ भने हस्तक्षेपकारी व्यक्ति हिंस्रक हो । पितृसत्तात्मक सोचबाट माथि उठेर समान स्वतन्त्रता दुवैलाई हुनुपर्छ । घरबाट निस्कन, घुम्न, साथीभाई भेट्न, रेस्टुरेन्ट गएर खान, मनोरञ्जन गर्न जसरी पुरुषलाई आवश्यक छ, त्यसरी नै प्रत्येक महिलालाई पनि उत्ति नै आवश्यक छ भन्ने घरका पुरुषले जान्नुपर्छ, बुझ्नुपर्छ ।
कारण नं. २ कानुनमा अस्पष्टताः अपराध गर्नेलाई कुनै न कुनै रूपमा छुट दिने प्रवृत्तिले महिला हिंसामा बढोत्तरी ल्याएको छ । युरोप, अमेरिकालगायत विकसित मुलुकमा महिला जति स्वतन्त्र छन् उति उनीहरूमाथि हुने हिंसाका घटनामा कानुन कडा बनाइएको छ । उनीहरू मध्यरातमा निर्धक्क घुम्छन्, डुल्छन्, मस्ती गर्छन् ।
मनलागे पार्कमै सुत्छन्, तर असुरक्षा महसुस गर्दैनन् । कसैले कसैलाई दुव्र्यवहार त के जिस्क्याउनसम्म पाउँदैनन् । पार्कमै सुते पनि प्रत्येक महिला सुरक्षित छन् विकसित मुलुकमा । तर, हामीकहाँ घरभित्रै असुरक्षा छ । यदि कोही कसैले हिंसा गरे कानुनले कडा दण्ड दिने हो भने महिलाले आफूलाई स्वतन्त्र महसुस गर्ने थिए ।
कारण नं. ३ हिंसाका घटनामा मेलमिलापः हिंसाका घटनामा मेलमिलापजस्तो अर्को अपराध केही हुँदैन । कसैले महिला हिंसा ग¥यो भने माफी दिने, पैसामा लेनदेन गर्ने र नाता वा शक्तिको आडमा मेलमिलाप गर्ने प्रवृत्तिले हिंसाप्रेमीलाई प्रोत्साहन गरिरहेको छ । त्यसैले कुनै पनि सानो वा ठूलो हिंसा होस् सोहीअनुसारको सजाय पीडकलाई दिनैपर्छ । हिंसामा मेलमिलापले दोब्बर हिंसा जन्माउँछ ।
कारण नं. ४ आर्थिक असमानताः अधिकांश नेपाली पुरुष घरको आर्थिक कारोबार आफैँ गर्छन् । कमाउने जसले भए पनि आर्थिक हकदारदेखि सबै प्रकारका खरिद–बिक्रीमा महिला सहभागिता अनिवार्य हुनुपर्छ । यसले महिलाको मनोबललाई उच्च राख्दै पुरुषको ज्यादतीमा स्वतः निराकरण गर्न मद्दत पुर्याउँछ ।
कारण नं. ५ संस्कृतिमा बन्देजः पुरुषलाई जति हाम्रा चाडपर्व, रीतिरिवाज र संस्कृतिले स्वतन्त्र हुन दिएको छ, त्यति महिलालाई बाँधेको छ । यस्ता कुसंस्कारजस्ता संस्कृति खारेज गरेर महिलालाई पनि पुरुष बराबरको सामाजिक पहुँच बनाउन मद्दत गर्नुपर्छ ।
कारण नं. ६ सामाजिक जालझेलः सभा–समारोहदेखि निर्णायक तहमा महिलालाई पन्छाएर गरिने निर्णय सामाजिक जालझेल हो । जनसंख्यामा महिला र पुरुष बराबर भएको यो समाजमा हरेक काम अधिकार र कर्तव्यमा महिलामाथि विभेद गर्नु भनेकै महिला हिंसाको कारण बन्ने गरेको छ ।
कारण नं. ७ यौन स्वतन्त्रतामा पुरुषको पकडः यौन चाहना महिला र पुरुषलाई बराबर हुन्छ । अझ वैज्ञानिक आधारमा भन्दा यौन सन्तुष्टि पुरुषलाईभन्दा महिलालाई आठ गुना बढी आवश्यक रहेकोतर्फ नेपाली समाजले विचार पु¥याएको पाइँदैन । जसरी पुरुष यौनको मामलामा स्वतन्त्र छ, त्यसरी नै महिलालाई पनि यौनमा स्वतन्त्र हुन नदिएसम्म हिंसाजन्य कार्यमा कमी हुनेवाला छैन । कुण्ठाले नै हिंसा जन्माउँछ ।
कारण नं. ८ धर्मका नाममा पुरुषको राजः संसारमा यस्तो एउटा धर्म छ, जहाँ महिलाले भलिबल खेल हेरेकै भरमा जेल जानुपर्छ । हालै इराकमा भएको त्यो घटनाले मुस्लिम महिला कति प्रताडित छन् र उनीहरू पुरुषकै मातहतमा बस्नुपर्छ भन्ने स्पष्ट उजागर गर्छ । पुरुष निर्धक्क सामाजिक साइट फेसबुक लगायतमा पहुँच राख्छ, तर त्यही घरमा छोरी, बुहारी, आमा, पत्नी कुवाको भ्यागुताको जीवन व्यतित गरिरहेछन् । धर्मका नाममा यसरी महिलालाई स्वतन्त्र विचरण हुन नदिनु सबैभन्दा ठूलो हिंसा हो ।
कारण नं. ९ सामाजिक असुरक्षाः साँझबिहान होस् वा रातबिरात महिला स्वतन्त्रपूर्वक एकान्तमा बस्न सक्ने वातावरण छैन । उनीहरूलाई पनि शान्त स्थानमा रहन मन लाग्छ । तर, एउटा साथीको सहारामा हिँडडुल गर्नुपर्ने असुरक्षाले हाम्रो सामाजिक परिवेश कति हिंसाग्रस्त छ भन्ने देखाउँछ ।
कारण नं. १० व्यक्तिगत चाहनामा तुषारापातः सही विषय र राम्रो काम गर्न स्वनिर्णय अधिकारबाट धेरै नेपाली महिला वञ्चित छन् । अविवाहित हुँदा आमाबुबाको र विवाहितपछि पतिको निर्णयमा भरपर्दा उनीहरूको सिर्जना त्यसै मरिरहेको छ । महिलालाई व्यक्तिगत हुने चाहनामा प्रश्न गरेर हामी पुरुषले सबैभन्दा ठूलो हिंसा गरिरहेछौँ ।
कारण नं. ११ पुरानो पुस्ताको बोलवालाः हाम्रापालामा यस्तो थियो, हेर त यो केटी यसरी हिँडेकी छे भन्ने पुरानाहरूको कथनबाट आममहिला त्रसित छन् । हाम्रापालामा महिलाले धेरै दुःख पाए, बरु अब नयाँले देखाएको बाटोमा जाँदा उन्नति, प्रगति र महिलाको अधिकार प्राप्ति हुन्छ भन्ने पुरानो पुस्ताले कहिल्यै बुझेन । हिजोका जड्ता पुराना चलनलाई जबर्जस्ती थुपार्न खोज्ने पुरानो पुस्ता महिला हिंसाको कारण बन्दै आएको छ ।
कारण नं. १२ अस्थिर राजनीतिः दलीय स्वार्थका नाममा नेपाल सधैँ राजनीतिक रूपमा अस्थिर बन्यो । फलस्वरूप कानुन, दण्ड, अधिकारका विषय बाझिए । राजनीतिक परिवर्तनका नाममा अपराधी छुट्ने मौका पाए । हिंसा गर्नेले संक्रमणकालको फाइदा लिँदै कानुनबाट उम्केर अपराध गरिरह्यो ।
कारण नं. १३ द्वन्द्वको प्रभावः नेपालमा विभिन्न कालखण्डमा भएका सशस्त्र द्वन्द्वले सबैभन्दा बढी महिलालाई सताएको छ । महिलालाई हतियार बनाएर निशाना लगाउने परम्परा चलिरह्यो । पछिल्लो माओवादी युद्धमा धेरै युवती युद्धमा होमिए, कति मारिए, तर जे–जति बाँचेका छन् उनीहरू कुनै न कुनै हिंसाबाट पीडित बने ।
कारण नं. १४ भूबनावटको असरः भारतको उत्तर प्रदेश, झारखण्ड र बिहार विश्वमै सबैभन्दा महिला हिंसाग्रस्त क्षेत्रमा पर्छ । यसैको सिमानामा हामी छौँ । त्यसैको प्रभावले तराईमा महिला सधैँ पीडित बनेर बाँच्नुपरेको छ ।
कारण नं. १५ अशिक्षा र गरिबीः कानुन थाहा नपाएर एकथरीले हिंसा गरिरहेछन् भने अर्काथरीले गरिबीकै कारण महिला बेचबिखनदेखि अनेक गलत काममा महिलालाई प्रयोग गरेका छन् । पछिल्लोपटक देखिएका घटनामा नपढेका व्यक्तिले नै धेरै महिला हिंसा जन्माएका उदाहरण छन् ।
कारण नं. १६ पुरुषप्रधान देशः खासगरी महिला हिंसा जन्मनुको मुख्य कारकतत्व पुरुषप्रधान मुलुक भएर हो । प्राकृतिक रूपमा शारीरिक हिसाबले महिला कमजोर हुन सक्छन् । तर, अधिकारमा पनि पुरुषको मात्र राज चल्ने भएकोले महिलाले चाहेर पनि हिंसाबाट बच्न सकेका छैनन् ।
अतः सरकारले भारतसँगको खुल्ला सम्बन्धलाई तत्काल रोक लगाउन सक्नुपर्छ । खुल्ला सिमानाले नेपालभित्र अपराध भित्रिरहेको छ । भारतबाट सामान मात्र आउँदैन, सँगै अपराध र बलात्कार भित्रिरहेको छ । जसरी उत्तर प्रदेश, झारखण्ड र बिहारका महिलाहरूले आफूलाई स्वतन्त्र महसुस गर्न सकेका छैनन् त्यसरी नै तराईका हाम्रा आमा, दिदीबहिनीहरूले स्वतन्त्रता जीवन जिउन सकेका छैनन् ।
चाहेर पनि तराईका महिलाहरूले स्वतन्त्रता पाउन सक्दैनन् । किनकी ‘रोटी र बेटी’ को सम्बन्धले भारतका कुरीतिबाट हाम्रो तराई निरीह छ । चीन तर्फको आड र भारततिर सन्तुलन सम्बन्ध मात्र राख्न सक्यो भने नेपालमा धेरै हदसम्म अपराध कम हुनेछ । किनकी, चीनबाट बलात्कारको सिकाइ नेपाल आएको छैन, चीनमा यस्ता घृणित कार्य निकै कम हुन्छन् । तर, भारत एउटा बलात्कारको भण्डार देश हो ।
जसको छिटा मात्र नेपालमा आयो भने प्रलय बलात्कारबाट नेपाल खरानी हुनेछ । अहिले भारतबाट छिटा आएकै छैन, हावा मात्र आएको हो । साँच्ची नै भारतबाट बलात्कारको छिटा नेपालभित्र पस्यो भने हरेक नेपाली नारी बलात्कृत हुने निश्चित प्रायः छ । यो अहिलेसम्म भारतबाट भित्रिएका कारणहरूले देखाएको प्रष्ट प्रमाण हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ साउन २०७५, १३ : ५५
लेखकबाट थप