काठमाडौ । भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ ।
बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्या परेका हुन् ।
मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि उनीहरू हैरान भएका छन् । बाँदरको कारण जिल्लाका अधिकांश भूभागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदा समेत दुःख दिने स्थानीयको भनाइ छ । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्ज्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानी लगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ ।
बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयको भनाइ छ ।
बाँदर नियन्त्रणको लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए । बाँदरको आतंक यसरी नै बढ्दै जाने हो भने अबको ८/१० वर्षमा धेरै बस्ती खाली हुने उनको भनाइ छ ।
‘बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ,’ स्थानीय प्रधानले भने, ‘बाँदरको समस्या धेरै नै छ । कहिले बाँदर नपुगेका ठाउँमा समेत बाँदरले अन्नबाली खाएको अवस्था छ । नियन्त्रणमा ध्यान नदिने हो भने धेरै बस्ती खाली हुने अवस्था छ ।’
बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन् । ‘बाँदरको उपद्रो बढ्दो छ,’ उनले भने, ‘१ घण्टा मात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ । बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ । गाउँबस्ती नै आतंकित बनेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँदरमा पहिलाे पटक मानिसमा सर्ने दुर्लभ भाइरस फेला
बाँदर नियन्त्रण गर्ने कानुन बनाउन कानुनमन्त्रीसँग माग
पर्वतको पैंयुँ गाउँपालिकाले बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने