काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित र सञ्चालनमा आउने उद्योगहरुलाई विद्युत आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारणलाइनको रिङ बन्ने भएको छ ।
औद्योगिक विस्तारको सम्भावना रहेको परासी क्षेत्रमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत आपूर्तिका लागि प्रसारणलाइनको रिङ बनाइने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल–हकुई १३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण अगाडि बढाएको छ । गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिङ्गल सर्किट प्रसारणलाइन चालु अवस्थामा छन् ।
सुनवल सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि निर्माणाधीन ३३ केभीका डबल सर्किट थप तीन वटा फिडरहरुमध्ये एउटा सञ्चालनमा आएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त डबल सर्किट लाइन उद्घाटन गरेका छन् । घिसिङले नयाँ लाइन सञ्चालनमा आएसँगै यस क्षेत्रका उद्योगहरु र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि पूर्वाधार बनेको बताए । निर्माणाधीन ३३ केभी डबल सर्किटका दुईवटा फिडरहरुको निर्माण तत्काल सम्पन्न गर्न घिसिङले निर्देशन दिए ।
सुनवल सबस्टेसनबाट यसअघि ३३ केभीका तीन वटा फिडरहरुबाट त्यस क्षेत्रमा सञ्चालित सिमेन्ट, स्टील उद्योगसहित स्थानीय रुपमा विद्युत आपूर्ति भइरहेको थियो । साथै, सबस्टेसनबाट ११ केभीका फिडर लाइन पनि निकालिएको छ ।
परासी क्षेत्रमा सञ्चालित सिमेन्ट, स्टील लगायतका ठूला तथा साना उद्योगहरुले अहिले करिब ७५ मेगावाट विद्युत खपत गरिरहेको प्रधिकरणले जनाएको छ । सञ्चालित उद्योगहरुको क्षमता विस्तार र नयाँ खुल्ने उद्योगहरुका लागि करिब ४० मेगावाट गरी त्यस क्षेत्रमा ११५ मेगावाट विद्युत खपत हुने प्रक्षेपण रहेको प्राधिकरणले उल्लेख गरेको छ । रुपन्देही जिल्लाको भैरहवासहित त्यस क्षेत्रमा करिब तीन सय मेगावाट विद्युत् खपत हुने अनुमान प्राधिकरणको छ ।
कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत कालीगण्डकी करिडोर २०० केभी प्रसारण लाइनबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने छ ।
कालीगण्डकी करिडोरको यही साउनभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको प्राधिकरणले जनाएको छ । यस्तै हेटौंडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारणलाइनमार्फत नयाँ बुटवल सबस्टेसनमा विद्युत आपूर्ति हुने छ । त्यस क्षेत्रमा विद्युत आपूर्ति र नेपाल–भारतबीच विद्युत् व्यापारका लागि नयाँ बुटवल सबस्टेसन अर्को ठूलो विद्युत् हब बन्ने प्राधिकरणले बताएका छ ।
हेटौंडा–भरतपुर २२० केभी प्रसारणलाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । भरतपुर–बर्दघाट प्रसारण लाइनलाई यही साउनभित्र र नयाँ बुटवल–बर्दघाटलाई आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्राधिकरणले बताएका छ ।
अहिले पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिम (बुटवल)तर्फ विद्युत प्रवाहका लागि समस्या छ । हेटौंडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारणलाइन निर्माण सम्पन्न भएपछि उक्त समस्या समाधान हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० साउन २०८०, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुपाल्चोकको बाह्रबिसेमा बन्याे २२० केभी सबस्टेसन
चार सय केभीको तेस्रो ठुलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
वीरगन्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न ठुला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै
चितवनको देवनगर सबस्टेसन सञ्चालनमा
चितवनको देवनगरमा सबस्टेसन सञ्चालनमा