काठमाडौँ । बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति नियमित बनाउन उच्च क्षमताका तीन वटा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।
बाराको अमलेखगञ्ज तथा प्रसौनी र पर्साको वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीन वटा सबस्टेसन अन्तिम चरणमा पुगेको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी सबस्टेसन र प्रसारण लाइन निर्माण यथाशीघ्र सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए। वीरगञ्ज क्षेत्रको विद्युत् माग र आपूर्ति व्यवस्थापन तथा भारतसँगको विद्युत् व्यापारका लागि निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा संवेदनशील र जिम्मेवार भएर निर्धारित समयमा काम सम्पन्न गर्न आग्रह गरे ।
पथलैया–सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा रहेको विद्युत् आपूर्तिको समस्या समाधान र बढ्दो माग पूरा गर्न अमलेखगञ्ज १३२–६६ केभी सबस्टेसन तयार भएको छ । उक्त सब स्टेसनमा रहने अधिकांश मुख्य उपकरण जडान भइसकेका छन् । अमलेखगञ्ज सबस्टेसनलाई आगामी जेठको दोस्रो साताभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका काम भइरहेका प्रबन्ध निर्देशक घिसिङले उल्लेख गरे ।
उनका अनुसार पूर्व–पश्चिम १३२ केभी डबलसर्किट प्रसारण लाइनमध्ये एउटा सर्किटलाई अमलेखगञ्ज सबस्टेसनभित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) गर्ने काम सकिएको छ । त्यस्तै हेटौँडाबाट सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा विद्युत् आपूर्ति गर्ने ६६ केभी लाइनको दुवै सर्किटलाई सब स्टेसनमा लुप इन र लुप आउट गरिसकिएको छ । हेटौँडाबाट गएको ६६ केभी लाइन लामो र क्षमता कम हुँदा सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा भोल्टेजको समस्या थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० चैत्र २०८१, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुपाल्चोकको बाह्रबिसेमा बन्याे २२० केभी सबस्टेसन
चार सय केभीको तेस्रो ठुलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
वीरगन्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न ठुला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै
चितवनको देवनगर सबस्टेसन सञ्चालनमा
चितवनको देवनगरमा सबस्टेसन सञ्चालनमा