चितवन।निर्माण थालेको १५ वर्षपछि हेटौंडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौंडा–भरतपुर–बर्दघाट २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा आएको हो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण कर्जामा आयोजना सन् २००८ मा सुरु गरिएको थियो । आयोजनालाई हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २ सय २० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किट तत्कालका लागि १ सय ३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो ।हेटौंडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आईकम टेलबीच २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो ।
तर, काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडी कम्पनीले कार्यसम्पादन जमानतबापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरेको थियो । यसैगरी, प्राधिकरणले काम ढिला गरेबापत झन्डै १६ लाख डलर विलम्ब जरिमाना पनि लगाउने निर्णय गरेको थियो । त्यसपछि नयाँ टेन्डर आह्वान गरी २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरिएको थियो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौकी टोलको पुरानो हेटौंडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीको नयाँ भरतपुर सबस्टेसनसम्मको २ सय २० केभी प्रसारण लाइनलाई १ सय ३२ केभीमा चार्ज गरिएको छ ।
हेटौंडा–भरतपुर खण्ड प्रसारण लाइन सञ्चालनमा आएपछि हेटौंडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौंडातर्फ झन्डै १ सय ७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो १ सय ३२ केभी प्रसारण लाइनबाट झन्डै ९० मेगावाट मात्र विद्युत् प्रवाह हुँदै आएको थियो । हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा थप विद्युत् प्रवाहका लागि केही सहज हुनेछ ।
नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो ।निर्माण कार्य नसकिँदै विश्व बैंकले आयोजनाबाट २०७८ को कात्तिकदेखि हात झिकेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।
हेटौंडा–भरतपुर खण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ थाना भ¥याङमा निर्माणाधीन सबस्टेसनमा लाइन लैजान २ सय २० केभी चार सर्किट (मल्टी सर्किट) का दुईवटा टावर निर्माण भइरहेको छ । यो काम आउँदो भदौभित्रमा सम्पन्न हुने आयोजना प्रमुख सन्तोष साहले बताए ।
यता भरतपुर–बर्दघाट खण्ड साउनभित्र पूरा हुने भएको छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २ सय २० केभी प्रसारण लाइन खण्ड आउँदो साउनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण २०७७ चैतदेखि यस खण्डमा पर्ने दुईवटा टावर निर्माण रोकिएको थियो । जसले गर्दा प्रसारण लाइन निर्माण पूरा हुन सकिरहेको थिएन । सर्वोच्च अदालतले रिट खारेज खारेज गरिदिएसँगै स्थानीयसँग सहमति जुटेपछि टावर निर्माण अगाडि बढेको थियो । १ दशमलव ७ किलोमिटर तार तान्न अहिले काम सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ढल्केबर इनरुवा ४०० केभी प्रसारण लाइन परीक्षण गरिँदै