प्रचण्डको प्रशंसा

नेकपा महासचिव विष्णु पौडेल भन्छन्, प्रचण्ड धेरै गतिशील र डाइनामिक नेता हुनुहुन्छ

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०७५, १५ : ५०
नेकपा महासचिव विष्णु पौडेल भन्छन्, प्रचण्ड धेरै गतिशील र डाइनामिक नेता हुनुहुन्छ

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाएर बनाइएको नेपाल कम्युनिष्ट पार्टीको महासचिव हुनुहुन्छ,  विष्णु पौडेल । एकताका सूत्रधार मानिएका पौडेल पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई डाइनामिक नेता मान्नुहुन्छ ।

‘कतिपय मान्छेहरु डोरीलाई सर्प ठानेर झुक्किन्छन् । प्रचण्डको गतिलाई बुझ्न नसक्नेले गर्ने टिप्पणी यस्तै हो’ महासचिव पौडेलले भन्नुभयो, ‘प्रचण्ड अस्थिर देखिएपनि त्यस्तो नेता हुनुहुन्न । प्रचण्ड धेरै गतिशील र डाइनामिक नेता हुनुहुन्छ ।’

झण्डै १५ हजार नागरिकको बलिदानी । त्योभन्दा बढी घाइते र अंगभंग भएकाको खबरदारी । यही बलिदानी र खबरदारीको परिचय बनेको माओवादी जनयुद्ध । यी सबै उथलपुथलपूर्ण माओवादी आन्दोलनको लेखाजोखा गर्दा हात लाग्ने उपलब्धी हुन्, संविधानसभा, गणतन्त्र र आजको संघीयता । जसको नेतृत्वकर्ता थिए, पुष्पकमल दाहाल प्रचण्ड । परिवर्तनका लागि रगतको खोला बगाएपनि प्रचण्ड शान्ति वार्ता रोजेर संसदीय अभ्यासमा आउनुभयो । देशको राजनीतिक व्यवस्था फेर्न ठूलो जोखिम मोलेका प्रचण्डलाई समृद्धिको यात्रामा सँगसँगै हिँडाउने तत्कालीन एमाले नेताहरुको चाहना अहिले पूरा भएको छ ।

नेपालमा कम्युनिष्ट पार्टीहरु जति छन्, ति मिलेका भन्दा धेरै फुटेको इतिहास छ । त्यसैले भनिन्छ, कम्युनिष्ट पार्टीहरु सकभर मिल्दै मिल्दैनन् । मिलिहाले पनि लामो समय मिलेर बस्न सक्दैनन् । कि गुट बनाएर पार्टी चलाउँछन् कि फुटिहाल्छन् । पुष्पलाल श्रेष्ठले २००६ सालमा स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीको इतिहास हेर्दा यस्तै देखिन्छ । बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मासँग मिलेर विष्णु पौडेलले चुनावका लागि वाम गठबन्धन बनाएर एमाले र माओवादीलाई एकताका लागि हौस्याउनु भएको थियो । 

एकताका लागि पार्टीको सिद्धान्तबाहेक सबै विषय टुंग्याइएका पनि थिए । सबै तयारी गरेर मिति समेत प्रस्ताव भइसकेका बेला तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले बराबरी संख्या नपाए एमालेसँग एकता नगर्ने भनेर अड्डी लिनु भएको थियो ।यही बीचमा आएर दुई पार्टीका नेता र कार्यकर्तामा सन्नाटा छायो । तर ओली गुटका नेता भनेर चिनिएपनि प्रचण्डलाई ‘डाइनामिक’ नेता मान्ने विष्णु पौडेलले एकताको डोरी बाट्न माधव नेपालको सहयोग लिनुभयो ।

पौडेलको समन्वयमा एकताका लागि माधव नेपालले अग्रसरता लिएपछि प्रचण्ड अडानबाट पछि हट्दै ओलीसँग एकताका लागि बैठक बस्न तयार हुनु भएको हो । यसको श्रेय अहिले माधव नेपाललाई भन्दा बढी पौडेललाई गएको छ । कारण पार्टी भित्र कुन नेतामा के क्षमता छ ? अनि त्यसलाई उपयोग गरेर कसरी एक कदम अगाडि जान सकिन्छ ? भन्ने राम्रो ज्ञान अध्यक्ष केपी शर्मा ओलीपछि पौडेलमा पनि देखिएको छ । यही ज्ञान भएका पौडेललाई पार्टी बलियो बनाएर देशलाई समृद्धितर्फ लैजाने जिम्मेवारीमात्रै छैन । फुटबाट ग्रसित नेपाली कम्युनिष्ट पार्टीको इतिहास बदल्ने चुनौती पनि सामुन्नेमा छ ।

प्रतिक्रिया दिनुहोस