एसिसी इमर्जिङ कप: आज नेपाल पाकिस्तानसँग भिड्दै

सफल खबर संवाददाता

शुक्रबार, २९ असार २०८०, ०७ : १९
एसिसी इमर्जिङ कप: आज नेपाल पाकिस्तानसँग भिड्दै

File pic

काठमाडौ । एसिसी इमर्जिङ टिम्स कपमा शुक्रबार(आज) नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दै छ।

बिहीबारबाट सुरु भएको प्रतियोगितामा नेपाल विजयी सुरुवातको प्रतीक्षामा रहेको छ। कोलम्बो क्रिकेट ग्राउन्डमा नेपाली समय अनुसार खेल १०:१५ बजे सुरु हुनेछ।

प्रतियोगिताको पहिलो दिन बिहीबार श्रीलंका र अफगानिस्तानले विजयी सुरुवात गर्दा दोस्रो दिन नेपाल पाकिस्तानलाई हराएर आफ्नो बलियो सुरुवातको लक्ष्यमा रहेको छ। शुक्रबारनै हुने दोस्रो खेलमा भारत र युएईको ‘ए’ टिमबीच पनि प्रतिस्पर्धा हुँदैछ।

एसिसी इमर्जिङ टिम्स कपमा नेपाल बाहेक बाँकी सबै ७ टिमले ‘ए’ टिमलाई सहभागिताका लागि श्रीलंका पठाएका छन्। नेपालले पनि नियमित टिममा केही खेलाडी हेरफेर गरेपनि आफ्नो राष्ट्रिय टिमनै श्रीलंका पठाएको छ। नेपालले एसियाकपको तयारीका लागि राष्ट्रिय टिमनै पठाएको जनाएको छ।

जिम्बाब्वे विश्वकप छनोटमा गएको टिमका पाँच खेलाडी अहिले टिममा छैनन्। जहाँ नयाँ अन्य खेलाडीलाई अवसर दिइएको छ। टोलीमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी अहिले टिममा छैनन्।

दीपेन्द्र र सन्दीपले क्यानडमा हुने ग्लोबल टी-२० का कारण टिममा नरहँदा आरिफले टिम घोषणा भएपछि घरायसी कारण देखाएर नाम फिर्ता लिएका थिए। ज्ञानेन्द्र र करणलाई भने यो पटक टिममा बोलाइएन।

समूह ‘बी’मा रहेको नेपाले आफ्नो दोस्रो खेल १७ जुलाईमा भारत तथा समूहचरणको अन्तिम खेल १९ जुलाईमा युएइसँग खेल्ने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस