नेपालमा हिन्दुराज्यको सपना देख्दै बैंकक पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

सफल खबर संवाददाता

सोमबार, २१ साउन २०७५, २२ : २०
नेपालमा हिन्दुराज्यको सपना देख्दै बैंकक पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । नेपालमा हिन्दुराज्यको सपना देख्दै पूर्वराजा ज्ञानेन्द्र शाह बैंकक पुगेका छन् । भारतदेखि विभिन्न देशका अर्बपतिहरूसँग निरन्तर छलफलमा छन् पूर्वराजा ज्ञानेन्द्र शाह । थाइल्यान्डको बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु धर्मका भारतीय गुरु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति नजिक रहेका व्यापारीसँगको भेट र छलफल तिव्र पारेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा हिन्दु राज्य र हिन्दुत्वको रक्षाका लागि उपयुक्त वातावरण बनाइदिनका लागि भारतीय अधिकारीहरूलाई निरन्तर आग्रह गरेका छन् । त्यसबाहेक दरबारको अन्तर्राष्ट्रिय लगानीका विषयमा पनि कुराकानी भएको उच्च स्रोतले जनाएको छ । कान्छी नातिनी कृतिकाको उच्च शिक्षाका लागि कलेज भर्ना गराउन थाइल्यान्ड पुगेको बताइए पनि विदा मनाउँदै अन्तर्राष्ट्रियस्तरका ठूला लगानीकर्ता र व्यापारीसँग पूर्वराजासहित पूर्वयुवराज्ञी हिमानी शाहको पनि भेट भइरहेको छ ।

पूर्वरानी कोमलसहित सचिव सागर तिमल्सिना, अर्दली हस्तबहादुर मल्ल, सशस्त्र डिएसपी शिव राउत पनि थाइल्यान्ड पुगेका छन् । पुर्वयुवराज्ञी हिमानी भने छोरा हृदयेन्द्र र स्वकीय सचिव स्मिता सिंहसहित ज्ञानेन्द्रभन्दा तीन दिन अघि बैंकक पुगेकी थिइन् । उनले व्यापारी सिद्धार्थ अम्बानीसँग भेट गरेका छन् । दरबारसँग भएको रकमको लगानीमात्र होइन, भारतीय संस्थापनसँग सिधा र प्रभावकारी सम्बन्ध भएको अम्बानी ग्रुपमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यान खिच्नका लागि पनि पूर्वराजाले तयारी गरेका छन् । उनको हरेक भेटमा पत्नी कोमल र बुहारी हिमानी अनिवार्य उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस