दुग्ध उत्पादक कृषकलाई अनुदान

सफल खबर संवाददाता

आइतबार, २४ असार २०८०, ०९ : ०२
दुग्ध उत्पादक कृषकलाई अनुदान

काठमाडौ । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् ।

गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुशी भएका हुन् । 

म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले चालू आर्थिक वर्षमा ९ हजार ३९४ लिटर दूध उत्पादन गरे । गाउँपालिकाबाट उनले प्रतिलिटर ९ रुपैयाँ २० पैसाका दरले ८६ हजार ४२४ रुपैयाँ अनुदान प्राप्त गरे ।

उनले भने, ‘गाउँपालिकाको यो कामले कृषकको हौसला बढाएको छ । जति धेरै उत्पादन गर्न सक्यो त्यति हामीलाई फाइदा छ ।’ उनले यो कार्यलाई निरन्तरता दिन गाउँपालिकालाई आग्रह गरे ।

गाउँपालिकाको पशु सेवा शाखाको दूधमा अनुदान कार्यक्रमअन्तर्गत उत्पादनका आधारमा पालिकाले चालू आर्थिक वर्षमा कृषकलाई १४ लाख ९८ हजार ५८२ अनुदान रकम उपलब्ध गराएको छ ।

गाउँपालिकाले प्रतिलिटर ९ रुपैयाँ २० पैसाका दरले उत्पादनका आधारमा अनुदान दिने नीतिबमोजिम ३ वटा सहकारीमा आबद्ध कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरिएको छ ।

म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्ने कृषकलाई ११ लाख २१ हजार १८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई २ लाख १२ हजार २३२ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई १ लाख ६५ हजार १६३ रुपैयाँ रकम वितरण गरिएको पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस