रकगायक तामाङको दाहसंस्कार आज गरिँदै

सफल खबर संवाददाता

आइतबार, २४ असार २०८०, ०८ : ११
रकगायक तामाङको दाहसंस्कार आज गरिँदै

काठमाडौँ । गत मंगलबार निधन भएका चर्चित नेपाली रकगायक एवम् अभिनेता रविन तामाङको आज दाहसंस्कार गरिँदैछ।

तामाङको अन्तिम संस्कारका लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानुअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न बिहान संगीत तथा नाट्य एकेडेमीको प्राङ्गणमा, नक्सालमा राखिनेछ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्राङ्गणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम सकिए पछि उनको शव शोभा भगवती लगेर अन्तिम दाहसंस्कार गरिनेछ।

तामाङ गत मंगलबार बेलुका बूढानीलकण्ठस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका थिए।

द रिभोलुसन ब्याण्डका भोकलिस्टसमेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए।

सिंगापुरमा जन्मिएका लाहुरे परिवारका रविनको पछिल्लो फिल्म ‘छड्के-२’ हो। नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ।

सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए। सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन्।

उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए।

उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस