मनसुन ढिला हुँदा गत वर्षको भन्दा १३ प्रतिशत कम धान रोपाई

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०८०, १६ : ३२
मनसुन ढिला हुँदा गत वर्षको भन्दा १३ प्रतिशत कम धान रोपाई

काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष कम धान रोपाई भएको छ। कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका अनुसार देशभर १३ लाख ५७ हजार ८ सय १६ हेक्टर जमिनमा धान रोपाई भएको छ। गत वर्षको असार २१ गतेसम्म मुलुक भर ४०.०४ प्रतिशत धान रोपाई भएकोमा यो वर्षको सोहि अवधिमा २६.७१ प्रतिशत मात्र बर्खे धान रोपाई भएको छ। यस हिसावले गत वर्षको यसै अवधिको तुलनामा करिव १३.३३ प्रतिशतले कम रोपाइ भएको देखिन्छ।

विशेषगरि  मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण यो धान रोपाईमा कमी देखिएको मन्त्रालयको भनाई छ। मनसुन शुरु हुने क्रमसंगै रोपाइ हुने क्षेत्रफल बढ्दो क्रममा रहेको कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जलले बताए। साउन १५ सम्म सामान्य हिसावले ती प्रदेशमा रोपाइ हुने भएकोले हालसम्म मन्त्रालयले विगत वर्षहरुमा जस्तै लगभग शतप्रतिशत रोपाइ हुने प्रारम्भिक अनुमान रहेको उनको भनाई छ।

कुन प्रदेशमा कति धान रोपाई

यस वर्ष सबै भन्दा बढी कर्णाली प्रदेशमा र सबै भन्दा कम मधेश प्रदेशमा कम धान रोपाई भएको छ। कोशी प्रदेशमा ३६.६७ प्रतिशत, मधेश प्रदेशमा ९.५३ प्रतिशत, बाग्मती प्रदेशमा ३०.७८ प्रतिशत, गण्डकी प्रदेशमा १७.५५ प्रतिशत, लुम्बिनी प्रदेशमा २४.४३  प्रतिशत, कर्णाली प्रदेशमा ४५.०२ प्रतिशत, सुदुर पश्चिम प्रदेशमा ४८.९७ प्रतिशत धान रोपाई भएको मन्त्रलयको तथ्याङक छ।

प्रतिक्रिया दिनुहोस