छैठौं चितवन च्याम्पियनसिपको समापन गर्न गृहमन्त्री श्रेष्ठ आउने

सफल खबर संवाददाता

मंगलबार, १९ असार २०८०, १४ : ३३
छैठौं चितवन च्याम्पियनसिपको समापन गर्न गृहमन्त्री श्रेष्ठ आउने

चितवन। छैठौं चितवन च्याम्पियनसिपको समापन समारोहमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आउने भएका छन् । भोलि बुधबार हुने च्याम्पियनसिपको समापन गर्न गृहमन्त्री श्रेष्ठ आउने भएका छन् । फाइनल खेलको प्रमुख अतिथिको रुपमा गृहमन्त्री आउने पक्का भएको प्रतियोगिता संयोजक एवं आयोजक एभरेष्ट क्लब चितवनका निवर्तमान अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । फाइनल खेल दिउँसो ३स्३० बजे हुनेछ । त्यस अघि ३ बजे समापन समारोह हुने देवकोटाले बताए । 

नेपाल प्रहरी शिक्षालयको मैदान भरतपुरमा जारी प्रतियोगिताको उपाधिका लागि बुधबार गैंडाकोट फुटबल क्लब र सूर्यपुर फुटबल क्लब भिड्नेछन् । गैंडाकोट रड्स रामपुर तथा सूर्यपुर आयोजक एभरेष्ट क्लबलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०(१० हजार रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष प्रेमबहादुर गुरुङ गोपालले जानकारी दिए । उनका अनुसार फाइनल खेलमा दर्शकका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस