आन्दोलनको नाममा गलत धन्दालाई स्थापित गर्दै नेपाली काँग्रेस

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०७५, २० : ०१
आन्दोलनको नाममा गलत धन्दालाई स्थापित गर्दै नेपाली काँग्रेस

काठमाडौँ  । जनताले निर्वाचनमा नराम्ररी पराजित गरिदिएपछि मरेतुल्य भएको नेपाली काँग्रेस पछिल्लो समय आन्दोलनको नाममा गलत धन्दा र संस्कारलाई स्थापित गर्न लागिपरेको छ । अधिनायकवाद आएको, कम्युनिस्टको सरकारले मनलाग्दी गरेको, ज्यादती गरेको तथा नागरिक अधिकार हनन् गरेको भन्दै काँग्रेसले बेमौसमकोे बाजा बजाएको छ । 
काँग्रेसले यही साउन १५ गते देशव्यापी रुपमा आयोजना गरेको आन्दोलनमा चुनावबाट पराजित हरुवा नेताहरु जुलुश गर्दै हिँडेका थिए । त्रिभुवन विश्वविद्यालयका चिकित्सक डा. गोविन्द केसीको पुच्छर समातेर राजनीतिको वैतरणी तर्न सकिन्छ कि भन्ने ध्याउन्नमा रहेको काँग्रेसले नागरिक अधिकार खोसिएको, जनताले काम गरी खान नपाएको भन्दै नाटक प्रदर्शन गरेको छ । विगतमा सरकारमा रहँदा उद्योग धन्दा कौडीको भाऊमा बेचेको, भारतसँग असमान सन्धी सम्झौता गरेको, नेपाली जनताको अधिकार हनन गरेको, विरोध गर्नेमाथि गोली दागेको जस्ता घटना बिर्सेर काँग्रेसले आन्दोलनको नौटंकी गरेको छ । 
विगतमा जनताप्रति गरेको गद्दारी र ज्यादतीका कारण नेपालले दुःख पाएको छ । नेपालमा राजनीति गर्ने एजेण्डा सकिएपछि काँग्रेसले आन्दोलनको नाटक गरेको हो । राजनीतिक क्षेत्रका जानकारहरुकाअनुसार काँग्रेसको ज्यादतीलाई नियन्त्रण गर्न सरकारले जनताको पक्षमा प्रभावकारी काम गर्नुपर्ने देखिन्छ । तर सरकारका मन्त्रीहरुको काम गर्ने शैली औसत भन्दा माथि उठन सकेको छैन । सरकारको काम गर्ने शैली परम्परागत र जनता केन्द्रीत भन्दा पनि कमाऊ धन्दामा सक्रिय देखिएका छन् । सरकारका कुनै पनि मन्त्रीले जनपक्षीय निर्णय गर्न सकेका छैनन् । 
जनताको पक्षमा कुनै पनि काम नगर्ने, वरको सिन्को समेत पर नसार्ने प्रवृत्ति मन्त्रीहरुमा देखिएको छ । केपी ओलीका खास कार्यकर्ता बताउने रघुविर महासेठले श्रीमती जुली महत्तोलाई परिचालन गरेर कमाऊ धन्दा चलाएका छन् । यातायात क्षेत्रमा रहेको एकाधिकार हटेको बताएपनि उनले सिण्डिकेट कायम गर्न हदैसम्मको प्रयास गरिरहेका छन् । उनले महत्वपूर्ण आयोजनाको प्रमुख तथा प्राविधिक कर्मचारीसँग मोटो रकम लिएर सरुवा गरेका छन् । आफू अगाडि नसरीकन जुली महत्तो मार्फत कमाऊ धन्दा चलाएका छन् । यस्तै उनले यातायात समितिको नाममा रहेको रकममा समेत आँखा गाडेका छन् ।
ऊर्जामन्त्री वर्षमान पुनको कार्यशैली समेत प्रभावकारी देखिएको छैन । उनले पनि जलविद्युत् आयोजनाको लाइसेन्स बेच्ने तर्फ ध्यान केन्द्रीत गरेको उनलाई नजिकबाट चिन्ने जान्नेहरु बताउँछन् । मातृका यादवको कार्यशैली पनि शतप्रतिशत गलत रहेको छ । उनले कुनै पनि जनताले अनुभव गर्ने काम गर्न सकेका छैनन । शक्ति बस्नेतको पनि काम गर्ने शैली नै नभएको भन्दै मन्त्रालयकै कर्मचारीले समेत टेर्न छाडेका छन् । सामान्य प्रशासन तथा स्थानीय विपकास मन्त्री लालबाबु यादव समेत कमाउ धन्दामा लागेका छन् । 
गोकर्ण विष्टको समेत कार्यशैली उस्तै रहेको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्रसँग निकट रहेका कुनै पनि मन्त्रीले जनपक्षीय निर्णय गर्न सकेका छैनन । उनीहरु केवल कसरी मोटो रकम जम्मा पार्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने भन्ने तर्फ लागेका छन् । जनतालाई सेवा दिने, राम्रो निर्णय गर्ने तर्फ कुनै पनि मन्त्री नलागेको भन्दै जनताले चर्को आक्रोश व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीको कार्यशैली समेत प्रभावकारी देखिएको छैन । उनको काम खाली भाषण गर्ने, रेल र पानी जहाज भन्ने भन्दा अरु नरहेको बताइन्छ । भाषणको भरमा समृद्धि नआउने भन्दै प्रधानमन्त्रीको समेत चर्को आलोचना सुरु भएको छ । यस्तो अवस्थामा काँग्रेसलाई थप मौलाउने अवसर मिलेको छ । काँग्रेसलाई मौलाउन नदिन सरकारले जनताको पक्षमा प्रभावकारी निर्णय गर्नुपर्ने आवश्यकता देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस