महिला–संवाद :
तपाईंले अधिकांश महिला पात्रलाई यौनमा जोडेर लेख्नुभएको छ, किन यसो गर्नुभयो ?
महिला जन्मसिद्ध नै जटिल छन् । साहित्यमा जटिल कुरालाई चरित्र बनाइन्छ । नत्र त साहित्य नै भएन । समाजले महिलालाई पहिलादेखि नै कि शृङ्गार, कि शोषण, कि युद्धका लागि प्रयोग गर्दै आयो । समाजमा अझै पनि केन्द्रमा त महिला नै छन् । त्यसको मूल्यांकन खोइ ? हामी ती कथा खोज्छौँ, जसले मनलाई छुन्छ । ठीक हो, मेरा कथामा धेरै महिला पात्र हुन्छन् । ती सबै पीडित छन् । तिनले प्रतिकार गर्छन् । त्यसैले मैले महिलालाई विद्रोहको रूपमा प्रयोग गरेको छु । तर, खेलौनाकी महिला पात्रले भने कथामा आउनुभन्दा पहिला नै प्रतिकार गरिसकेकी छे । मैले स्मिता थापाको अन्तर्वार्ता पढेपछि उनलाई पात्र बनाएर खेलौना उपन्यास लेखेँ । उनले भनेकी छिन्, ‘जसरी पुरुषले हामीलाई स्वास्नी होइन, स्वास्नीमान्छेको रूपमा लिन्छ, त्यसरी नै मलाई पनि लोग्ने होइन, लोग्नेमान्छे चाहिएको हो ।’ यो प्रतिकार हो । तर, यो समाजले उसलाई बिग्रेकी केटी देख्छ ।
उपन्यास लेख्नुअघि स्मितालाई भेट्नुभयो ?
भेटिनँ । लेखिसकेपछि मात्र भेटेँ । लेख्नुअघि नै भेटेको भए यस्तो पुस्तक बन्दैनथ्यो । म त ऊबाट प्रभावित भइहाल्थेँ । उसलाई नभेटेकै कारण मैले त्यो पात्रको माध्यमबाट कसरी आमनेपाली महिलालाई यौन पुतली बनाइन्छ भन्ने देखाएको छु । जगदीशशमशेर राणाले ‘यो किताब पढ्ने मात्र होइन, चपाएर उग्राउँदै पढ्ने हो,’ भन्नुभएको छ । यदि मैले उनलाई भेटेको भए मेरो आँखा पनि उनको छातीमा जान्थे होला । अनि मैले त उनकै वर्णन गर्न थाल्थेँ होला नि । पुरुष मनोवृत्ति नै यही हो ।
यसलाई त कतिपयले अश्लील उपन्यास भनेका छन् नि ?
पुस्तकको बिक्री देखेपछि कतिपय त बहुलाए नि, अनि अश्लील उपन्यास भन्दै हिँडे । तर, त्रिभुवन विश्वविद्यालयले यसलाई नारीवादी उपन्यासको रूपमा थेसिस नै गर्ने अनुमति दिएको छ । कतिपय महिलाले मलाई फोन गरेर यो उपन्यासलाई ‘नारीको गीता’ पनि भनेका छन् । अहिले भर्खर भारतमा प्याडको कुरा उठिरहेको छ । तर, मैले त उतिवेलै खेलौनामा उठाइसकेको थिएँ ।
तपाईंको पुस्तकमा विवाद धेरै हुन्छ, किन ?
म विवादकै विषयमा लेख्छु । स्मितालाई समाजले पचाएन । द्रौपदी पनि त्यस्तै छ । बाल बलात्कारबारे लेखेको छु ।
महिला र यौनका कुरा लखेपछि बढी चर्चा हुन्छ भनेर लेख्नुभएको हो ?
के महिलालाई शोषण गरिरहने ? महिलाले विद्रोह गर्न नपाउने ? मेरा कथामा सबै महिलाले विद्रोह गरेका छन् । म भएकै घटनाबाट सुरु गरेर आफ्नो विषय थप्छु । द्रौपदी पनि त्यही हो । हाम्रो समाजको खतरनाक मनोविज्ञान भन्दिन्छु, हामी कोही साथीको घरमा गएर १३–१४ वर्षकी केटीलाई ‘ओहो, नानी त कति ठूली भइछे, हलक्कै बढिछे’ भनेर धाप मार्छौँ । त्यो आशय करणी हो । म जे हो, त्यही लेख्छु । किनभने त्यही पात्रले छोरालाई चाहिँ त्यसो भन्दैन । हाम्रो समाजमा बलात्कार भएको घटना आयो भने पुरुषहरूको गफ ‘कस्तो मोज गरेछन्,’ भन्ने खालको हुन्छ । बलात्कारीलाई बचाउने जात पुरुष । न्यायालय पनि त्यस्तै छ । पुलिस पनि उस्तै । ‘बलात्कारीलाई कारबाही गर’ भनेर जाँदा अस्ति पुलिसले कुट्यो । म यस्तै कुरा लेख्छु । यो यौन होइन, यौन शोषणको कुरा हो ।
तपाईं महिला र यौनबाहेक अरू विषयमा लेख्न सक्नुहुन्न भन्ने आरोप छ नि ?
मैले जे लेखेको छु, त्यो हेर्ने हो । आमाले भात पकाउनुभयो भने ‘भातभन्दा अरू पकाउन सक्नुहुन्न’ भन्नु त भएन नि । मेरो लेखनीबाट केही लेखक विक्षिप्त भएका छन् । हीनताबोध गरेका छन् । उनीहरूकै घरमा पनि महिलालाई शोषण छ । अनि मेरा पुस्तक नपढी कभर मात्र हेरेर अनेक भनेर हिँड्छन् । मैले जे लेखेको हो, त्यसमा कुरा गरौँ । नलेखेको त धेरै छ नि ।
महाभारतको कथामा आधारित ‘शकुनी’ उपन्यास प्रकाशनको तयारीमा हुनुहुन्छ । यसमा पनि महिला र यौनकै कुरा छ ?
मैले वेदकालीन समयदेखिको महिलाको शोषणबारे अध्ययन गरेको छु । शकुनी उपन्यासमा शकुनीको दृष्टिबाट महाभारतको पुनः लेखन गरेको छु । महाभारतको लडाइँको कारण असामाजिक यौन क्रियाकलाप हो भनेर प्रमाणित गरिदिएको छु । यो ७४ दिनको कथा हो । श्रीकृष्ण पाँच हजार ६ सय २८ वर्षअगाडि सेप्टेम्बर २८ शनिबार नक्कली शान्तिवार्ताका लागि हस्तिनापुर आएको दिनबाट मेरो कथा सुरु भएर शकुनी मरेको दिन डिसेम्बर ७ मा सकिन्छ ।
तपाईं सफल गीतकार पनि हुनुहुन्छ । प्रायः गीतमा किन महिलालाई सम्बोधन गरिन्छ ?
मेरा गीतमा कहीँ पनि महिलालाई सम्बोधन भएकै छैन । म गीतमा तिमी भन्ने शब्द राख्दिनँ । गीत साहित्यको नरम विधा हो । यो संगीतबद्ध भइसकेपछि गाएर जनता न्यायाधीशले पास गर्नुपर्छ । अरू सबै विधाभन्दा धेरै मान्छेसम्म पुग्ने विधा हो यो । यसलाई नरम बनाउन पनि महिला चाहिन्छ । अर्को कुरा प्रेमगीत भन्नेबित्तिकै त्यहाँ महिला र पुरुष आउँछन् । पुरुष–पुरुषको प्रेमगीत त ‘होमोगीत’ भइहाल्यो नि । म त्यस्तो होमोगीत लेख्न सक्दिनँ । मेरो गीतमा प्रेम मात्र होइन, प्रेमभन्दा बढी हुन्छ । ‘यसपालि त मनै फाट्यो’ गीत ‘सेक्स’ होइन, शृङ्गारिक हो । अब ‘गाउँगाउँबाट उठ’ भनेर लेख्दा उठेर कहाँ जाने ? उही सत्ताको भ-याङ हुन त हो ।
गीत लेखिरहँदा महिलाको तस्बिर कसरी सम्झनुहुन्छ ?
म पाँच हजार गीत लेखिसकेको मान्छे हुँ । बल गरेर लेख्नुपर्दैन । गीत लेख्दा महिला सम्झिने, पुरुष बिर्सने हुँदैन । मैले पहिला कतै भेटेको बिम्ब, थेगो, उखान टिपेर राखेको हुन्छु । जब लेख्ने मुड चल्छ, डायरी पल्टाएर हेर्छु । टिपेकामध्ये ८०–९० प्रतिशत त खेरै जान्छन् । अहिले छक्कापञ्जा ३ को गीत ०३१ सालमा चितवनमा टिपेको विषय हो ।
महिला र पुरुष के कुरामा समान के कुरामा असमान ?
तपाईंले महिला र पुरुष भनिसकेपछि असमानता भइसक्यो नि । मानव सभ्यताले नै असमान बनायो । पहिला महिलाबाट समाज चल्थ्यो । जनावरको पनि मातृवात्सल्य पोथीमा हुन्छ । मान्छेको पनि त्यही हो । पुरुषमा त्यो गुण छैन । पुरुषले त सिर्फ वीर्य फाल्ने मात्र हो । स्त्रीले त्यसलाई ग्रहण गर्ने हो । तर, प्रेम हुन चाहिँ चेतना चाहिन्छ, जुन अरू जनावरमा छैन, मान्छेमा छ । समयक्रममा महिला पुरुषको फरकलाई हामीले नकारात्मक रूपमा लियौँ । महिलालाई जनसंख्या बढाउने रूपमा मात्र लियौँ । महिलाको शक्तिलाई हामीले उनीहरूको कमजोरी ठान्यौँ । त्यही गलत भयो ।
अलिकति फरक प्रसंगमा कुरा गरौँ । तपाईंलाई मनपर्ने महिला लेखक को हो ?
मैले अंग्रेजी र अझ बढी हिन्दी साहित्य पढेँ । पहिला वीरगन्जमा हुँदा ०३० सालसम्मका हिन्दी साहित्य सबै पढेँ । मैले ४ कक्षा पढ्दा पढेको सुभद्राकुमारी चौहानको कविता ‘वीराेंका कैसा हो वसन्त’ अझसम्म दिमागमा छ । त्यो कविता कोर्समा नै थियो । पछि अमृता प्रितमका कथा पढेँ । ती कथाले अहिलेसम्म दिमाग हल्लाइरहेका छन् । शिवानीका कथा पनि गहिरा हुन्थे । नेपालतिर त महिला लेखक नै कम थिए । अहिले नयाँ महिला लेखक आइरहेका छन् । तर, बुझ्नुपर्ने कुरा लेखन महिला र पुरुष हुँदैन । महिलाले पनि पुरुषको पीडा, वेदना लेख्न सक्छ, पुरुषले पनि मैलेजस्तै महिलाका कुरा लेख्न सक्छ । अझ महिलाले धेरै गहिरिए लेख्न सक्छन् । पुरुषले लेख्यो भने यौन लेखेको आरोप लगाइहाल्छन् । यहाँ कस्तो अचम्म छ भने बिपी कोइरालाले लेखेको चाहिँ यौन मनोविज्ञान रे, राजेन्द्र थापाले लेख्यो भने चाहिँ यौन पुस्तक रे । तर, राजेन्द्र थापाजस्तो गहिरिएर अरूले लेख्न सक्दैन भनेर जगदीशशमशेरले भन्नुभएको छ । उहाँ त मूर्ख होइन होला नि । म आफ्नै पोजिसन भएको मान्छेलाई प्रचारको लागि लेख्नु आवश्यक छैन । म त यसै पनि जरसाहेब छु नि ।
तपाईंलाई त्यस्तो आरोप लगाएको चाहिँ महिलालाई कि त यौन, कि प्रेम, कि सुन्दरतामा मात्र उभ्याएर हो कि ?
होइन, होइन । मेरा कुनै पनि पुस्तकमा महिला यौनमा उभिएका छैनन् । यौन शोषणमा छन् । स्मिता कहाँ मेरी पात्र हो ? ऊ त यो समाजको वास्तविक पात्र हो नि । उसले यौनमा प्रतिवाद गरेकी छे । घरघरबाट स्मिताहरू विद्रोही भएर उठे के होला ? यो त यति यथार्थ छ कि एकजना काठमाडौंकै मान्छेले फोन गरेर भने, ‘तपाईंले ठीक लेख्नुभयो, मेरा नातिनी भइसके र पनि मेरो आँखा सबैभन्दा पहिला महिलाका छातीमा पर्छन्, वास्तवमा घरघरमा महिलालाई यौनशोषण छ ।’ मैले त्यही शोषणको विषय लेख्दा खगेन्द्र संग्रौलालाई चाहिँ ‘पोर्न’ लाग्छ । यही त अचम्म छ ।
तपाईं आफूलाई चाहिँ महिलाको कुन अंगले आकर्षण गर्छ ?
कुनै राम्री महिला देखेपछि मैले पुरुषको आँखाबाटै हेर्ने हो । त्यो सबैले हेर्छ । सामान्यतया आमपुरुषको आँखा महिलाको छातीमा जान्छन् । यो पुरुष मनोविज्ञान हो । कसैले हेर्दिनँ भनेर सधैँभरि रोकिराख्न सक्दैन ।
तपाईंका प्रायः धेरै पात्र वास्तविक छन् । कोहीबाट डेटिङ जाने अफर आए कोसँग जानुहुन्छ ?
मेरा पात्र नचिनीकन कथा सुनेर लेखेको हुँ । त्यसलाई आफ्नो ढंगले विकास गरेर कथा बनाएँ । स्मिता मात्र होइन, द्रौपदीको सारिका पनि वास्तविक पात्र हो । उसका सबै प्रमाण हालिदिएको छु । अरू पात्र पनि यही समाजका मैले चिनेका, देखेका छन् । तर, तीसँग डेटिङ हुँदैन । हाम्रो पालामा डेटिङ भन्ने नै थिएन । अब अहिले मेरो फोटो फेसबुकमा देखेर बहुलाहा पागल भएर म्यासेज गर्छन् । ‘म त बूढो मान्छे हुँ’ भन्छु । इन्डियाबाट धेरैले म्यासेज गर्छन् । ‘आइ एम सो वल्ड म्यान, वल्डर देन योर फादर’ भन्दा पनि ‘आई डन्ट केयर, माई फादर इज नट हेन्डसम लाइक यू’ भन्छन् । भारतबाट भागेर आउँछु भन्छन् । तर, म त्यसलाई एभोइड गर्छु । यो कुरा तपाईंको अखबारमा लेख्न मात्र रमाइलो हुने हो । सम्भव कुरा होइन ।
तपाईंले खगेन्द्र संग्रौलाको नामै लिनुभयो । धेरै प्रगतिशील साहित्यकारले तपाईंको साहित्यलाई विकृत भन्छन् नि ?
पहिलो कुरा त साहित्यमा प्रगतिशील भन्ने नै हुँदैन । जसले आफूलाई प्रगतिशील भन्छ, त्योचाहिँ जो चोर छ उसले आफू चोर्दिनँ भनेजस्तो हो । जो झूट बोल्छ, उसले म ढाँट्दिनँ भन्छ । प्रगतिशील भन्नेहरू अरूलाई गाली गर्छन् । अरूलाई गाली गर्नु प्रगतिशील होइन । म मात्रै ठीक, अरू बेठीक भनेपछि त त्यो अगतिशील भइगयो नि । त्यो सोच नै अगतिशील हो । अर्को कुरा साहित्य आफैँ गतिशील हुन्छ । त्यसलाई ‘प्र’ जोड्नुपर्दैन । गतिशील साहित्य भनेको आजको तस्बिर हो । लेनिन र माओका पालाका साहित्य लेखेपछि त हिजोको तस्बिर पो आयो त । प्रगतिशील भएन । उनीहरूले भनेजस्तो साहित्यमा राजनीति पनि हुँदैन । राजनीतिपीडितहरूका कुरा चाहीँ हुन्छ । -नयाँ पत्रिकाबाट साभार
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १९ साउन २०७५, १४ : ३४
लेखकबाट थप