बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ: नेता नेम्वाङ

रासस

बुधबार, ०५ पुस २०७४, १९ : ५०
बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ: नेता नेम्वाङ

काठमाडौँ ।  नेकपा एमालेका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदको नाम राष्ट्रपतिसमक्ष बुझाएपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने बताएका छन् ।
प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले आज  आयोजना गरेको ‘पत्रकार आचारसंहिता र पत्रकारिताको वर्गीकरण’ विषयको अन्तरक्रियामा उनले राष्ट्रपतिलाई आयोगले समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम चाँडैनै पठाउने बताए ।
नेता नेम्वाङले २०४७ सालको संविधानजस्तै अहिलेको संविधान रहेकाले राष्ट्रपतिले बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको बताए । “संसद्मा प्रस्ताव राखेर प्रधानमन्त्री चयन गर्न अहिलेको व्यवस्थाले मिल्दैन, २०४७ सालको संविधान जस्तै प्रतिनिधिसभाको बहुमत प्राप्त गर्ने नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया छ”– उनले भने ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाईँ र ईश्वरी ओझाले आचारसंहितामा रहेर मात्र सञ्चार संस्थाले समाचारको प्रकाशन प्रसारण गर्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस