काठमाडौँ। आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले केबल २७ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले सर्वाधिक ९० रन बनाए ।
७५ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी, डच टोलीका बज डेलिडले ४१ र वेस्ली बारेसीले ३० रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने गुल्सन झाले १ विकेट लिए । त्यसअघि नेपालले नेदरल्याण्ड्ससामु १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिङ्गा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले ४४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ६७ रन बनाएपछि नेदरल्याण्ड्सले १ सय ६८ रनको लक्ष्य पाएको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । ५५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यसैगरी, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २७ रन जोडे ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा डच टोलीका लोगन भान बिकले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी, बज डेलिड र विक्रमजीत सिंहले समान २ विकेट लिए ।
यससँगै यसपालीको विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असार २०८०, १९ : ०२
लेखकबाट थप