काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताएका छन् ।
राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले आवश्यक पूर्वतयारी गरेका कारण विपद्पछि उद्धार, खोजी र राहत कार्यलाई व्यवस्थितरुपमा सम्बोधन गर्न सकिएको जानकारी दिए ।
गृहमन्त्री श्रेष्ठले भने, ‘विपद्का घटनामा तत्काल उद्धारकार्यका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहनुका साथै कमाण्ड पोष्टसमेत गठन गरिएको छ, त्यससम्बन्धी राष्ट्रिय कार्ययोजना पनि निर्माण गरिएको छ ।’
थुप्रै सम्भावनाका बीचमा पनि नेपाल भूकम्प, बाढीपहिरो, जलवायु परिवर्तनको असरबाट हुने क्षतिका हिसाबले उच्च जोखिममा रहेकाले विभिन्न खाले विपद्को सामना गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले राहत, उद्धार र सहयोगलगायत विषयलाई प्रभावकारी विभिन्न तहमा गठन गरिएको समितिबाट प्रभावकारीरुपमा काम हुने जानकारी दिए ।
विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र व्यवस्थापन गर्न ११ स्थानमा मानवीय सहायता आपतकालीन भण्डारण खडा गरिएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले पाँच वटा मेसिन जडानसहित २७ डुङ्गाको व्यवस्थापन भइरहेको बताए ।
खोज तथा उद्धार सामग्री, एम्बुलेन्स, अग्नि नियन्त्रण, अग्निप्रतिरोधी कपडासहितको सामग्री खरिद गरी जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई पठाइसकिएको जानकारी दिँदै उनले हवाई उद्धारका हेलिकप्टर तथा बाढीपहिरोले भत्काएका स्थानमा तत्काल यातायात सञ्चालन गर्नका लागि बेलिब्रिजको व्यवस्था गरिने बताए ।
विपद्का घटनापछि तत्काल मानवीय उद्धार र स्थानान्तरण, पहुँच स्थापित, पुनःस्थापना र पुनःनिर्माणको काम क्रमश हुने उनले स्पष्ट पारे ।
यसैबीच, समितिले विपद् जोखिम न्यूनीकरण प्रतिकार्य तथा व्यवस्थापनका लागि पूर्वतयारी, जोखिममा परेका व्यक्ति-परिवारको पुनःस्थापना र पुनःनिर्माण कार्य प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।
बैठकले पूर्वी पहाडमा बाढीपहिरोले पुर्याएको क्षति आँकलन गरी राहत, पुनःस्थापना र पुनःनिर्माणकार्य प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको सभापति प्रकाश पन्थले बताए ।
बैठकमा गृहमन्त्रालयकातर्फबाट गत जेठ ३१ गतेदेखि यता मनसुनजन्य विपद्मा परी भोजपुर, नुवाकोट, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तनहुँ र गोरखामा गरी १३ जनाको मृत्यु भएको जानकारी दिइयो ।
उक्त बाढीपहिरोमा परी २६ जना बेपत्ता, आठ जना घाइते हुनका साथै ४१ घर पूर्णरुपमा र सात घर आंशिक क्षति पुगेको तथ्याङक प्रस्तुत गरियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेडिकल उपकरण निर्माणमा सहयोग गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता
भ्रष्टाचार र देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि छाडिँदैन : गृहमन्त्री श्रेष्ठ
भ्रष्टचार र कुशासन आर्थिक समृद्धिको मुख्य बाधक बनेको छ : गृहमन्त्री श्रेष्ठ
हामी राजनीतिक साैदाबाजी गर्दैनौं : गृहमन्त्री श्रेष्ठ
देशको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण : गृहमन्त्री श्रेष्ठ