वडा सदस्यले विद्यालयको जस्तापाता चोरेर बनाए सुँगुरको खोर

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०८०, १४ : १०
वडा सदस्यले विद्यालयको जस्तापाता चोरेर बनाए सुँगुरको खोर

रामेछाप । निर्वाचित जनप्रतिनिधिले विद्यालयको जस्ता चोरेर सूँगुरको खोर बनाएका छन् । दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ गौश्वाराका वडा सदस्य हरिबहादुर मगरले विद्यालयको सामान चोरेर सुँगुरको खोर बनाएका हुन् । वडाको शिवलेङगेश्वर मा.वि ताम्चेतको विद्यालय परिसरमा राखेको जस्तापाता, फलाम, काठ–पात लगायतका सामाग्री वडा सदस्य मगरले राति गाडीमा लोड गरी लगेको स्थानीयले बताए ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य मगरले लाखौँ मूल्य पर्ने विद्यालयको सामान लगेको स्थानीयको भनाई छ । एक पटक प्रयोग गरी निकालेर राखिएका काठ, जस्तापाता, फलामका विभिन्न सामाग्री राता–रात उठाएको सोही विद्यालयको व्यवस्थापन समितिका एक पदाधिकारीले नाम नभन्ने सर्तमा बताए । चोरी भएको सामानले वडा सदस्य मगरले ३०÷४० वटा सुँगुर अट्ने फार्म बनाएका छन् । वडा र पालिकाबाट कृषि तथा पशुपालन अनुदान कुम्ल्याउनले उद्देश्यले मगरले विद्यालयका सामान उठाएर रातारात फर्म तयार पारेका हुन् । उनले सबै विद्यालयको सामाग्रीले फार्म तयार पारेको ती स्थानीयहरूको आरोप छ ।

रातारात गायब पारिएको सामान कहाँ छख? प्रहरीमा रिपोर्ट गर्नु भयो भनी सोध्दा प्रधानाध्यापक चतुर्मान तामाङले फोन काटे । बारबार फोन गर्दा समेत प्रधानाध्यापक तामाङले फोन उठाएनन् । उनी ३ महिना अगाडि मात्रै प्रधानाध्यापकमा नियुक्त भएका हुन् । यता वडा सदस्य हरिबहादुर आफ्नो सुँगुरको खोरमा छाउनका लागि नयाँ जस्ता आउन केही दिन लाग्ने भएकाले जस्ता लगेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस