काठमाडौंका हलमा रोकियो ‘आदिपुरुष’को प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, ०१ असार २०८०, ०८ : ५७
काठमाडौंका हलमा रोकियो ‘आदिपुरुष’को प्रदर्शन

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेको छ। सुरक्षा त्रासको कारण हलहरुले बिहानी शो रोकेका हुन् ।

क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन्

फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिती हेरेर चलाउन निर्देशन दिएको छ ।

बिहानी शोमा विक्री भैसकेका टिकटको रकम फिर्ता गर्ने वा यदि चलेको खण्डमा अर्को शोमा मिलाउने ब्यवस्था हलहरुले गरेका छन् ।

काठमाडौं महानगरका मेयर बालेन शाहको अभिव्यक्तिपछि उत्पन्न परिस्थितीलाई लिएर चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ । बैठकमा बालेनको अभिव्यक्तिबारे छलफल हुने र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।

मेयर शाहले फिल्ममा समावेश जानकी भारतकी छोरी हुन् भन्ने विवादित अभिव्यक्तिलाई भारतमा समेत नसच्चाएसम्म काठमाडौं महानगरमा फिल्म प्रदर्शन हुन नदिने स्टाटस लेखेका थिए ।

उनले तीन दिनको डेट तोकेरै लेखेकाले चलचित्र संघले यसबारे बैठक बोलाएको हो । तर, नेपालको सेन्सर बोर्डले भने विवादित वाक्य हटाउँदै फिल्मलाई प्रदर्शनको अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस