काठमाडौं । माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । माल्दिभ्स बास्केटबल संघले आज मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले भोलि भुटानसँग खेल्दै च्याम्पियनसिप सुरु गर्नेछ ।दक्षिण एसियाका भारत र श्रीलंका बाहेक बाँकी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्ने च्याम्पियनसिप राउण्ड रोविनका आधारमा खेलाइनेछ ।
जस अनुसार नेपालले दोस्रो खेल पाकिस्तानसँग पर्सि बिहीबार खेल्नेछ भने बंगलादेशसँग शनिबार तेस्रो खेल खेल्नेछ ।यस्तै नेपालले लिगको आफ्नो अन्तिम खेल आउँदो आइतबार माल्दिभ्ससँग खेल्नेछ ।लिग चरणपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलको दुवै खेल जुन २० मा हुनेछ । फाइनल खेल जुन २२ मा हुनेछ ।
सदिश प्रधानको कप्तानीमा रहेको नेपाली टोली च्याम्पियनसिपका लागि माल्दिभ्स पुगिसकेको छ ।नेपाली टोलीका अन्य खेलाडीमा विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह छन् ।
निकेश मगर र श्रेयास बहादुर शाह पहिलो पटक फुट कोर्टका लागि राष्ट्रिय टिममा परेका हुन् ।यस्तै प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् ।नेपालको पुरुष बास्केटबल टिमले सन् २०१९ डिसेम्बरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, १७ : १०
लेखकबाट थप