नवलपुर । तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा तापक्रममा दिनदिनै नयाँ ‘रेकर्ड’ बन्दै गएको छ । अघिल्ला वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत सहरको तापक्रम देशकै सबैभन्दा बढी मापन हुने गरेको भए पनि यसवर्ष नवलपुरमा उच्च तापक्रममा नयाँनयाँ ‘रेकर्ड’ बन्दै गएको छ ।
जल तथा मौसम विज्ञान विभागले हरेक २४ घण्टामा सार्वजनिक गर्ने देशको उच्च तापक्रममा नवलपुरको दुम्कौलीले दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको हो । विभागको हावापानी विज्ञान महाशाखाले वैशाख ६ गतेदेखि देशको तापक्रम सार्वजनिक गर्न सुरु गरेको थियो । सोही दिन नवलपुरको दुम्कौलीको तापक्रम देशकै सबैभन्दा बढी ४२.८ डिग्री सेल्सियस मापन गरिएको विवरणमा उल्लेख छ ।
विभागले देशभरको अधिकतम तापक्रम सार्वजनिक गर्न सुरु गरेपछि बीचमा फाट्टफुट्ट केही जिल्लाको तापक्रम उच्च मापन गरिएको भए पनि धेरै समय नवलपुरले नयाँ नयाँ रेकर्ड बनाउँदै आएको छ ।
नवलपुरको दुम्कौलीमा वैशाख १० र ११ गते ३८.८, १४ गते ३८, १५ गते ३८.८, २४ गते ३९ं८, २५ गते ४१.८, २७ गते ४२.८, २८ र २९ गते ४१.८ र ३१ गते ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । यो मापन गरिएको तापक्रम त्यस दिनमा देशकै सबैभन्दा उच्च तापक्रम हो ।
यसैगरी जेठ १ गते ४१ डिग्री सेल्सियस रहेको तापक्रम जेठ २ मा घटेर ४० तथा जेठ १० मा ३९ डिग्री सेल्सियसमा झरेको थियो । तर पनि सो तापक्रम देशभरकै उच्च भएको विभागले जनाएको छ ।
जेठ १० पछि उच्च तापक्रम भएका स्थानमा तराईका अन्य जिल्ला मापन गरिएको भए पनि जेठ १९ गते एकाएक नवलपुरको दुम्कौलीको तापक्रम ४३ डिग्री सेल्सियस मापन भयो । जेठ १९ पछि हालसम्म नवलपुरको अधिकतम तापक्रम देशका अन्य स्थानको भन्दा बढी मापन भइरहेको छ ।
जेठ २० गते ४३, २१ गते ४२.८, २२ गते ४३.८ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । जेठ २२ गते नवलपुरमा त्यतिबेलासम्मको सबैभन्दा बढी तापक्रम हुने आफ्नो जिल्लाको ‘रेकर्ड ब्रेक’ भएको थियो । त्यसअघि जिल्लाको अधिकतम तापक्रम सन् १९७९ मा ४३ दशमलव सात डिग्री सेल्सियस मापन गरिएको थियो ।
जेठ २३ गते तापक्रम घटेर ४२.८ डिग्री पुगेको भए पनि त्यस दिन यो तापक्रम देशकै उच्च तापक्रम मापन भएको विभागले जनाएको छ । जेठ २४ र २५ गते यहाँको तापक्रम ४३.८ डिग्री सेल्सियस पुगेको थियो । नवलपुरले उच्च तापक्रमको आफ्नो रेकर्ड पुनः ‘ब्रेक’ गर्दै जेठ २६ गतेको तापक्रम ४४ डिग्री सेल्सियस रह्यो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ जेठ २०८०, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपुरमा व्यावसायिक स्याउ खेती सुरू
हराउँदै घाटु, नाच्दै नवलपुरका गुरुङ