काठमाडौं। त्रियुगा नगरपालिका क्षेत्रमा केही दिनयता देखापरेको सुक्खा खडेरीका कारण मकैका बोट मर्न थालेपछि किसान चिन्तित बनेका छन्। त्रियुगा नगरपालिका क्षेत्रका खैराहा, पोर्ताह, लक्ष्मीपुर, विसनपुर, जोगिदह, मोथ्याई, खैजनपुर भुल्के, मोतिगडासहित, बगाहा, श्रीपुर क्षेत्रका खेतका मकैका बोट मर्न थालेपछि आफूहरु चिन्तित बनेको सम्बन्धित क्षेत्रका किसान बताउँछन्।
खैराहाका किसान विष्णु कार्की भन्छन्, ‘आफ्नो भएको झन्डै एक बिघा जग्गा सबै खेतमा यसपटक मकैबाली लगाएको हुँ, जेठको दोस्रो हप्तादेखि राम्ररी मकैको सुत्ला लाग्न थालेको थियो, तर सुक्खा र खडेरी लागेपछि अहिले पात मर्न थाले, मकैको बोट पात सुकेर सिक्रिक्क परिसकेका छन्, यसपटकको मकैबाली खान नपाइने भयो।’
पोर्ताहका किसान देवीलाल चौधरीको पनि गुनासो कार्कीको उस्तै छ। चौधरी भन्छन्, ‘आफ्नो खेतमा लगाएको मकैबाली सुरुमा राम्रो थियो, तर जेठको पहिला हप्तादेखि नै खडेरी पर्न थाल्यो, झनै दिनदिनै सुक्खा खडेरी लाग्न थालेपछि मकैको बोट मर्न थाल्यो, अहिले खेतको अधिकांश मकैका बोटमध्ये ५० प्रतिशत बोट त सुकी नै सके।’ भर्खर सुत्ला लाग्दै गरेको मकैको बोट धमाधम सुक्न थालेपछि लक्ष्मीपुर क्षेत्रका किसानसमेत चिन्तित बन्न पुगेको छन्।
लक्ष्मीपुरका छेदीलाल चौधरीका अनुसार मकैको बोट खडेरीले मर्न थालेपछि कतिपय किसानले बोरिङ र घरको कलको मोटरबाटसमेत खेतमा सिँचाइ गरेर मकैको बोट बचाउने प्रयास गरेका छन्। यस्तै घरभन्दा टाढा सुक्खा खेतमा मकैखेती गर्नेका मकैका बोट सुकेर नै मर्न थालेको चौधरीले बताए।
जोगिदहका किसानका अनुसार यस क्षेत्रका खेतमा लगाइएको मकैको बोटमध्ये झन्डै २५ प्रतिशत बोट मर्न थालेको र अझै केही दिन सुक्खा खडेरी नै रहने सम्भावना रहेका कारण यस पटकको मकैबाली उठाउन सक्ने अवस्थामा नरहेका कारण आफूहरु निराश बन्न पुगेको किसान बताउँछन्।
गाउँघर नजिक खेतमा लगाइएको मकैबालीलाई किसानले कल र मोटरबाट खेतमा सिँचाइ गरेर मकैको बोट बचाउने प्रयास गरिरहेका छन् भने सुक्खा ठाउँका खेत तथा गाउँभन्दा टाढाका खेतको मकैको बोट भने मर्न थालेको र बचाउन नसकिने अवस्था रहेको किसान बताउँछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केरा खेती मासेर व्यावसायिक मकै खेती
जाजरकोटमा हावाहुरीले घोगा लाग्न थालेका मकैमा क्षति, किसान चिन्तित
मकैको चनाचटपटे बेचेर आत्मनिर्भर बन्दै
विगत ३५ वर्षदेखि मकै बेचेर जीविकोपार्जन
मकैमा फौजी कीरा र फलफूलमा औँसाको सङ्क्रमण
मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित