चलचित्र ‘वेलकम टु हेम्जाकोट’ काे प्रिमियर शो सम्पन्न

सफल खबर संवाददाता

बुधबार, २४ जेठ २०८०, १२ : २३
चलचित्र ‘वेलकम टु हेम्जाकोट’ काे प्रिमियर शो सम्पन्न

काठमाडौं । नेपाली चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को प्रिमियर शो सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा चलचित्रको प्रिमियर शो सम्पन्न गरिएको हो । जेठ २६ देखि प्रदर्शनको तयारीमा रहेको सोसल–कमेडी चलचित्र ‘वेलकम टु हेम्जाकोट’ मा बुद्धितामाङ र विनोद न्यौपानेको शीर्ष भुमिका रहेको छ भने चलचित्रले बेरोजगारीले निम्त्याउने समस्या र अन्तरजातीय प्रेमको कथावस्तु पेस गरेको छ ।

सरोज पौडेल निर्देशित चलचित्रले युवालाई आदर्शवान बन्न सिकाएको छ । चलचित्रमा लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, प्रेविल कँडेल, स्व.जयनन्द लामाको समेत अभिनय रहेको छ ।

प्रिमियर शोपछि बोल्दै अमिनेता शोभित बस्नेतले चलचित्र हास्य विधाको चलचित्र भएकाले राम्रो लागेको र हास्न धेरै पाइने खालको चलचित्र बनेको बताए । त्यस्तै, चलचित्र ‘वेलकम टु हेम्जाकोट’ का अभिनेता विनोदले नयाँ टिमले गरेको प्रयासबाट कलाकारहरु खुशी भएको र आगामी शुक्रवारबाट दर्शकले प्रतिक्रिया दिएपछि चलचित्र राम्रो र नराम्रो भन्नेबारेमा विश्वस्त हुने बताए।

क्लोजअप सिने प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्र तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काले निर्माण गरेका हुन् । मिलन श्रेष्ठको एक्शन, मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रलाई दीर्घ गुरुङले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस