काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डेंगु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ ।
संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले गत वर्ष नेपालका ७७ वटै जिल्लामा डेंगु रोग फैलिएको, २८ हजार १०९ जनामा संक्रमण पुष्टि भएको र ३८ जनाको मृत्यु भएको उल्लेख गर्दै यसवर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउनुपर्ने भन्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
‘यो सरुवा रोगको नियन्त्रण, रोकथाम, उपचारलगायत पूर्वसावधानीको समयमै तयारी एवं पहल गर्न सरकारलाई जिम्मेवार एवं उत्तरदायी बनाउनका लागि संसदबाट निर्देशन जारी हुन आवश्यक देखिएको छ’ संकल्प प्रस्तावमा भनिएको छ ।
यस वर्ष पनि डेंगु रोगले महामारीको रुप लिन सक्ने प्रबल सम्भावना रहेको, विश्व स्वास्थ्य संगठनले नेपाललाई यो रोगको जोखिमयुक्त मुलुकको सूचीमा राखेको र डेंगु रोगका लागि प्रभावकारी औषधि हालसम्म पत्ता लागिनसकेको सांसद श्रेष्ठले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १४ : ५८
लेखकबाट थप