आगामी २०७५/०७६ को बजेट झण्डै १६ खर्बको हुने

बुधबार, ०५ पुस २०७४, १३ : ३८
आगामी २०७५/०७६ को बजेट झण्डै १६ खर्बको हुने

चितवन । संघीय नेपालको पहिलो अर्थात् आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट झण्डै १६ खर्ब रुपैयाँको हुने भएको छ । अहिलेको बजेट गत वर्षको भन्दा करिब २ खर्ब ९१ अर्ब बढीको रहने बताइएको छ ।

अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले आगामी बजेट करिब १५ खर्ब ७० अर्ब रुपैयाँको ल्याउने तयारी भइरहेको बताएका छन् । उनका अनुसार साढे ९ अर्ब रुपैयाँ राजश्वबाट, वैदेशिक अनुदानबाट १ खर्ब, वैदेशिक ऋणबाट ३ खर्ब, चालु आर्थिक वर्षको बचतबाट २० अर्ब र अन्य आन्तरिक ऋणलगायतबाट बजेट जुटाउने तयारी छ । गएको आर्थिक बर्षको बजेट १२ खर्ब ७९ अर्बको थियो ।

अर्थसचिव अधिकारीले देश संघीयतामा जाँदा विभिन्न वित्तीय चुनौती भए पनि कार्यान्वयन सम्भव रहेको बताए । संघियताको वित्तीय कार्यान्वयनसँग डराउनु नपर्ने उनको तर्क छ ।

“अहिले नेपालमा खर्च गर्ने निकाय ३ हजार पाँच सयजति छन् तर, संघको कार्यान्वयनपछि यस्ता निकायको संख्या २ हजारमा झर्नेछ,” उनले भने, “तर सुरक्षा, शिक्षालगायतको खर्च चुनौतीपूर्ण देखिन्छ ।”

उनका अनुसार करिब ८० प्रतिशत स्थानीय निकायमा आफ्नो भवन बनेको छैन । करिब ८ अर्ब रुपैयाँ सीिघयताको लागि खर्च हुने देखिन्छ । पूर्वाधारको विकासमा करिब १ खर्ब ६० अर्ब खर्च हुने देखिन्छ । स्थानीय निकायमा सवारी साधन व्यवस्थाको लागि मात्रै करिब ३ अर्ब रुपैयाँ खर्च हुने देखिन्छ । सक्षम राजनीतिक नेतृत्व आए ३० प्रतिशतभन्दा बढी राजश्व वृद्धि गर्न सकिने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस