'भाइ' तिहारको दुई महिनापछि कर्णालीवासीले यसरी मनाए नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार

रासस

बुधबार, ०५ पुस २०७४, १३ : ११
'भाइ' तिहारको दुई महिनापछि कर्णालीवासीले यसरी मनाए नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार

दुनै, डोल्पा, ५ पुस । भाइ तिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयका दिन कर्णालीका जुम्ला र डोल्पाका सर्वसाधारणले धुमधामका साथ मनाउने गर्दछन् ।

भाइटीका जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनका रुपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ ।

टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाका रुपमा पैसा, धोती, चोलीलगायतका सामग्री दिएर टीका थाप्ने गरिन्छ ।

आजको दिनमा महिला पनि सार्वजानिकस्थलमा भेला भएर चुट्किला–देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पीर–व्यथा साटासाट गर्ने गरिन्छ । भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने त्रिपुरासुन्दरी–१ का स्थानीयवासी रविप्रसाद न्यौपानेले बताउनुभयो । यो भैलो तिहारको देउसीभन्दा फरक ढंगबाट र फरक लयमा खेलिने उहाँले बताउनुभयो ।

भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएका सबैजना मिलेर पाठी भात (स्थानीय भाषामा) खाने प्रचलन रहेकोसमेत उहाँले बताउनुभयो । छोरा तिहारमा आमा नहुनेले भने स्थानीय मन्दिरमा गएर पुजारीको हातबाट टीका–अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् ।

छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घर–घर तथा गाउँ–बस्तीमा पुगेर भैलो खेल्ने प्रचलन छ ।

भैली यसरी गाइन्छ
आउँशीया बार भैलो
दरमुद बार भैलो
दरमुद्यया खोली भैलो
बाँस झोली भैलो
बाँस भित्र भैलो
आर्या न तार्या भैलो
पिपलु पाती भैलो
रायकी छाती भैलो
बखरी खानु भैलो
त्यो बाखरी कसो सुवाला भैलो
कसो सुवाला भैलो
भैलो दिने घरीनाको एककान सुन छ भैलो
एक कान मोती भैलो
सुर्यकी ज्वती भैलो
भेडो दिन्नन् डोर्‍याईए ल्याउला भैलो,घोडो दिन्नन चढि ल्याउला,त्यहीँ पर जाँउला पिरती लगाँउला भैलो
पिरतीका बार भैलो
आकाश जरा भैलौ पात्तला शिला भैलो

 

प्रतिक्रिया दिनुहोस