शौचालय निर्माण नगर्नेलाई सुविधा नदिने

रासस

बुधबार, ०५ पुस २०७४, ११ : ५४
शौचालय निर्माण नगर्नेलाई सुविधा नदिने

भोजपुर, ५ पुस । सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्ने भोजपुरवासीलाई सरकारी सेवा सुविधा नदिने निर्णय भएको छ ।
भोजपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि पटकपटक निर्णय गरी मिति तोक्दा पनि स्थानीयले बेवास्ता गरी शौचालय निर्माण नगरेको भन्दै स्थानीय सरकारले यस्तो निर्णय गरेको हो ।

जिल्लाका सबै गाउँपालिका यसअघि नै खुल्ला दिसामुक्त घोषणा गरिएको भए पनि भोजपुर नगरपालिकाको ७ र ९ नं वडाको केही स्थानीयले जग्गाको समस्या देखाउँदै सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्दा जिल्ला खुल्ला दिसामुक्त हुनबाट रोकिएको छ ।

मंगलबार बसेको सर्वदलीय सर्वपक्षीय भेलाले आगामी माघ १५ गतेसम्ममा सबैलाई शौचालय निर्माण गर्न अनुरोध गर्ने र त्यो समयमा पनि शौचालय निर्माण नगर्नेको राज्यबाट पाउने सेवा सुविधा नै कटौती गर्ने भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आलेले बताउनुभयो । यसका लागि घरघरमा पत्राचार गर्ने, स्थानीय सञ्चार माध्यमबाट सूचना सम्पे्रषण गर्ने बताइएको छ ।
 

 

प्रतिक्रिया दिनुहोस