काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गरेका छन्।
लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी उनले सफल आरोही बुढामगरलाई बधाई तथा शुभकामना दिएका हुन्। “तेह्र वर्षअघि गोर्खा सैनिकका रुपमा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएपछि पनि आफ्नो कठोर परिश्रम, दृढ इच्छा शक्ति र जीवनमा केही गर्ने हुटहुटीले तपाईंलाई कीर्तिमानी बनाएको छ”, उपराष्ट्रपति यादवले भने।
खुट्टा नहुँदाको प्रतिकूलतालाई चिर्दै कृत्रिम खुट्टाको प्रयोग गरी बुढामगरले विश्व कीर्तिमान कायम गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसबाट सम्पूर्ण नेपाली गौरवान्वित भएको बताए । उनले भने, “तपाईंका लगन, धैर्य र आत्मबल तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने यस कीर्तिमानी कार्यको उच्च प्रशंसा गर्न चाहन्छु । यो सफलता अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणाको स्रोत बन्न सकोस् ।”
उपराष्ट्रपति यादवले सगरमाथाको चुचुरोमा पुग्नु आफैँमा एउटा साहसिक कार्य भएको बताए। “तपाईंको यो ऐतिहासिक कार्यले अपाङ्गता भएका र विभिन्न कारणले अङ्गभङ्ग भएकालाई सधैँ उत्प्रेरित गरिरहने विश्वास मैले लिएको छु”, उनले भने।
बुढामगरले कायम गर्नु भएको कीर्तिमानले अपाङ्गता भएका व्यक्ति पनि अन्यसरह विश्व कीर्तिमान कायम गर्न सक्छन् भन्ने सकारात्मक सन्देश सञ्चार गरेको उनले बताए । उनले भने, “तपाईंको कीर्तिमानले अपाङ्गता भएका व्यक्ति अरुको भर र दयामा मात्र बाँच्न सक्छन् भन्ने नकारात्मक सोचलाई परिवर्तन गर्न सहयोग पुग्ने विश्वास पनि मैले लिएको छु । गौरवशाली उपलब्धिपछि मुलुकभर खुशी साटासाट भई रहेकै बेला तपाईलाई हार्दिक बधाईसहित सम्मान गर्दा म गौरवको अनुभव गरिरहेको छु ।”
उपराष्ट्रपति यादवले पर्वतारोही बुढामगरको अद्भूत आत्मविश्वास, साहस र सम्पूर्ण मानवजातिमा प्रेरणा जगाउने यो यात्रा निर्विध्न जारी रहोस् भन्दै प्रशंसा गरे। उनले पर्वतारोही बुढामगरको उज्जवल भविष्यको कामना गर्दै सुख, शान्ति, समृद्धि, सुस्वाथ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।
रोल्पाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ जेठ २०८०, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना
कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकता : उपराष्ट्रपति यादव
आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव
अमेरिकी उपराष्ट्रपति वान्सको सम्बोधनपछि किन छायो सन्नाटा ?
सार्क महासचिवलाई उपराष्ट्रपतिले भने : सार्क सम्मेलन छिट्टै होस्
विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव