काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र धरानका मेयर हर्क साम्पाङबीच वादविवाद भएको छ । उनीहरू दुवैले एक–अर्कामाथि तुच्छ शब्द प्रयोग गरेका छन् । रिमालको एउटा भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा उनले पछिल्लो समय उदाएका तीन युवा नेताहरूमाथि टिप्पणी गरेका छन् । त्यसमा उनले हर्क साम्पाङलाई ‘बौलाहा टाइपको’ संज्ञा दिएका छन् ।
रिमालले फेसबुकमा अत्यधिक लाइक आउने सन्दर्भमा काठमाडौंका मेयर बालेन्द्र साह, धरानका मेयर हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम लिएका थिए ।एमाले अध्यक्ष केपी ओलीको फेसबुकमा पनि उनीहरूको जस्तै लाइक आएमा पार्टीले बहुमत ल्याउने रिमालको दाबी थियो ।
उनको भनाइ यस्तो थियो:
हामीले के बुझौं भने कमरेड केपी ओलीको फेसबुक पेजमा हरेक दिन ५० हजार भन्दा बढी लाइक आयो भने पार्टीले बढी ल्यायो । त्यहाँभन्दा बढी टाउको दुखाउनै पर्दैन । कान्तिपुरले के लेख्यौ हेर्नै पर्दैन । त हामी गरिनै राख्या छैनौँ, अर्काले गरिराख्या छ । काठमाडौँका मेयरले गर्छ, उसले खासखुस नचाहिने कुरा लेख्नासाथै ८०र९० हजारले लाइक गर्या देखिन्छ । धरानको बौलाहा टाइपको मेयर छ । काम त राम्रै गर्या होला । धरानबाहिर पपुलर छ धरानभित्र के छ थाहा छैन । उसकोमा ४०र५० हजारले लाइक गर्या देख्छु एक घण्टामा । त्यसपछि स्वतन्त्र पार्टीको सभापतिले राख्या देख्छु । उसको एक घण्टामा ३०र४० हजारले लाइक गर्या देख्छु । त्यही लयमा उनीहरूको गइराख्या हुन्छ । कहिलेकाहीँ लेख्न मन लागेन भने पनि तिनीहरूबाट पनि सिकौँ न । सूर्यको जय होस लेख्दिनुस् । सूर्यको चिन्ह हाल्दिनुस् । तपाईँ आइडेन्टीफाइ हुनुभयो । त्यति हुनासाथ हाम्रो परिवार एकै ठाउँमा देखिन्छ ।
धरानका मेयर साम्पाङले फेसबुकमा स्टाटस लेख्दै रिमाललाई ‘गुइँठे’ संज्ञा दिएका छन् । यद्यपि उनको कुराको प्रतिवाद नगर्ने बताएका छन् ।साम्पाङको स्टाटस यस्तो छ, ‘विष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद म दिन्न । मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोडिदिन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, ११ : १०
लेखकबाट थप