इरानले दिन्छ विश्वकै सस्तो इन्टरनेट सेवा, नेपाल १२ औं स्थानमा

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०७५, १० : ०५
इरानले दिन्छ विश्वकै सस्तो इन्टरनेट सेवा, नेपाल  १२ औं स्थानमा

काठमाडौं ।  साउन १ गतेदेखि सरकारले दुरसञ्चार सेवा दस्तुरमा पहिलो पटक इन्टरनेटलाई पनि समेटेको हो । सरकारले बढाएको मूल्यको भार अन्तमा सर्वसाधारणलाई पर्ने भएकाले अहिले सेवा महंगो भएको गुनासो आउन थालेको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत सेवा दस्तुर थप गरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले मूल्य बढाएका छन् ।

तर, एउटा अध्ययनले नेपाल एसियामा इरान पछिको सस्तो ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने मुलुक भएको देखाएको छ ।  इरान एसियामै मात्र होइन विश्वकै सबैभन्दा सस्तो   इन्टरनेट सेवा दिने मुलुकको रुपमा  दरिएको  छ । इरान सँगसँगै  एसियामा नेपाल र माल्दिभ्स पनि सबैभन्दा सस्तो इन्टरनेट सेवा प्रदान गर्ने मुलुक रहेको एक अध्ययनले देखाएको छ ।

इरानको इन्टरनेट मूल्य औसतमा ५.३७ अमेरीकी डलर सहित सस्तो दरिएको हो । अध्ययनका अनुसार नेपालमा १८.८५ डलर प्रति महिना इन्टरनेट शुल्क रहेको भनिएको छ । यो भनेको सय रुपैयाँका दरले हिसाब गर्ने हो भनेपनि औसतमा १८ सय ८५ रुपैयाँ पर्न जान्छ । यद्यपि अहिले डलरको मूल्य ११० रुपैयाँ सम्म पुगेको छ ।

यस्तै श्रीलंकाको २०.१७ अमेरीकी डलर रहेको छ ।  सन २०१७ अगस्ट १८ देखि  अक्टोबर १२ को बीचमा ३ हजार ३ सय ५१ ब्रोडब्याण्ड प्याकेजको बिडिआरसी  र केवल डट सिओ डट युकेले गरेको विश्लेषणले यस्तो देखाएको हो । यो अध्ययन १९६ देशको ब्रोडब्याण्डलाई लिएर गरिएको हो ।

बुर्किना फासो विश्वकै सबैभन्दा महंगो इन्टरनेट सेवा प्रदान गर्ने मुलुक हो । यहाँ प्रति महिना औसतमा ९ सय ९४.५४ डलर लागत तिर्नुपर्छ ।

विश्वमा नेपाल १२ औ सस्तो,  भारत ५२ औ (३६.९ डलर प्रति महिना)  सस्तो र छिमेकी मुलुक चीन ४० औ (३२.२५ डलर प्रतिमहिना) सस्तो ब्रोडब्याण्ड लागत रहेको मुलुक रहेको सो अध्ययनले देखाएको छ ।

पश्चिमी युरोपभित्र इटाली सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने मुलक देखिएको छ । यहाँ प्रति महिना औसत २८.८९ अमेरीकी डलरको  प्याकेज पाइन्छ । विश्वमा ब्रोडब्याण्डको लागतमा बिशाल असमानता छ भन्ने अध्ययनबाट पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस