व्यंग्य : देउता चढेका नेताको भाषण

सोमबार, ०७ साउन २०७५, १५ : ५०
व्यंग्य : देउता चढेका नेताको भाषण

रमण नेपाल
एकादेशमा एक जना नेताजी भाषण गर्दै थिए । भाषण गर्दागर्दै देउता चढेछ । ढुङ्गाको देउता होइन, बुङ्गाको देउता चढेछ । देउता चढेपछि धामी झाँक्रीहरु बर्बराउँथे । नेताजी पनि भाषणमै अचानक बर्बराउन थाले ।
हे जनता जनार्दन, हे अन्नदाता देउता, तपाइँहरुलाई हामी नेताहरुको रातो अभिवादन ! निलो अभिवादन !! सेतो अभिवादन !!! रंगीचंगी अभिवादन !!!! तपाइँहरु महान् हुनुहुन्छ । तपाइँहरुको महानतालाई अभिवादन ! तपाइँहरुका महानताको हामी प्रशंसा गर्छौं । तपाइँहरुका धैर्यको त हामी अझ मुक्तकण्ठले नै प्रशंसा गर्छौँ । तपाइँहरुले जस्तै दःुखकष्ट पनि बेहोर्नसक्ने क्षमता प्रदर्शन गर्नुभएको छ । भारतले नाकाबन्दी गर्दा महिनौंसम्म चुल्हो नबले पनि, व्यवसाय नचले पनि तपाइँहरु हिमालजत्तिकै अडिग हुन सक्नुभएकै हो । तपाइँहरुको देशभक्ति र राष्टप्रेमको महिमा अपरम्पार छ । अखवारका पाना पढ्ने हो भने र रेडियोका गाना सुन्ने हो भने मुलुकका भाग्यनियन्ता भनिएका ठुलाबडाहरु भ्रष्टाचारमा रमेका छन् । कालो बजारीमा नाचेका छन् । तस्करीमा हाँसेका छन् । जनताका भागमा महगी छ । अभाव छ । बेरोजगारी छ । चौतर्फी विपन्नता छ । अकिन्चनता छ । असुरक्षा छ । अन्याय छ । अत्याचार छ । न्याय खरायोको सिंग बन्दैगएको छ । साँच्चिकै दुर्लभ छ । यति हुँदा पनि हे आदरणीय जन समुदाय, हे जनता जनार्दन, तपाइँहरुले मुख खोल्नुभएको छैन । आवाज निकाल्नु भएको छैन । धैर्य धारण गरिरहनुभएको छ । तपाइँका दुःख कष्टमा हामी नेताहरु मौनधारण गर्छौँ । हाम्रो सुख सयलमा तपाइँहरु धैर्यधारण गर्नुहुन्छ । यो आपसी समझदारीको लक्षण हो । यो जिम्मेदारीको लक्षण पनि हो । तपाइँहरु सर्वलक्षणसम्पन्न हुनुहुन्छ हे जनताजनार्दन, हे महान् जनता,, तपाइँहरुलाई देखेर हामी यस देशका वर्तमान र निवर्तमान राजनेताहरु सवै अभिभूत छौँ । तपाइँहरु अझै धैर्य गर्नुहोस् । अझै दुःखकष्ट सहनुहोस् । फेरी नाकाबन्दी भयो र चुल्हो बलेन भने पहिलेजस्तै  च्युरा चपाउनुहोस् । चामल,गहुँ, मकै, कोदो जे फेला पर्छ मुठ्याएर चपाउनुहोस् । नपाकेको अन्न विशेष तागतिलो हुन्छ । भोकको झोकमा मिठै हुन्छ । खानुस् । टन्न पानी पिउनुस् । हामी देवतालाई काँच्चै अक्षता चढाउँछौं । बाँदरले काँच्चै मकै चपाउँछ । देवता खुसी छन् । बाँदर बलियो छ । यसबाट शिक्षा लिनुस् । काम छैन । रोजगारी छैन । कतै आवतजावत गर्न यातायात साधन पनि उपलव्ध छैन । हो, तपाइँहरुसँग केही पनि छैन । जनताजनार्दनसँग के हुन्छ र ? दुनियाँदारसँग के हुन्छ र ? हुँदैन नि । नभएकोमै सन्तोष गर्नुहोस् । गौरव गर्नुहोस् । भगवान् शिवसँग के छ ? बजरंगबली हनुमान्सँग के छ ? कतै पुराण लागेको छ भने गएर सुन्नुहोस् । भूकम्पले बास भत्केको छ त के भो ? कतै कतै चउर छ । खेतबारीका छेउछाउ छन् । त्यो पनि नभए बाटो छ । सडक छ । कतै ओडार भेटिन सक्छ । नभए कतै चौतारो बाँकी होला । झुरुम्म भएर बस्नुहोस् । झुरुम्म भएर सुत्नुुहोस् । आपसमा तातो आउँछ नि , हो, त्यो त कसैले रोक्न छेक्न र खोस्न सक्दैन । जाडो शीत हिँउँद वर्षा सवै सहिदिनुहोस् । सहनु महान् तपस्या हो । हाम्रा पूर्वजहरु तपस्या गर्थे । गर्मीमा तराइका मैदानमा पन्चाग्नि तापेर तपस्या गर्थे । जाडोमा हिमालमा नांगै चिसो ढुंगामाथि पलेंटी कसेर तपस्या गर्थे । तपाइँहरु पनि तपस्या गर्नुहोस् ।
नेपाल त्रेता युगदेखिकै तपोभूमि हो । अत्री, विश्वामित्र, वाल्मीकि ,वेदव्यास, बुद्ध सवैले तपस्या गरेको भूमि हो नेपाल । नागार्जुनले नेपालकै जङ्गलमा आएर तपस्या गरेका थिए । उनकै तपस्थलि हुनाका कारण आज पनि त्यस जङ्गलको नाम नागार्जुन रहिरहेकै छ । नेपाल बुद्धको जन्मभूमि पनि हो । बुद्धले क्षमा सिकाउनु भएको छ । सहनशीलता किाउनु भएको छ । अहङ्कार दमनका लागि बुद्धले भिक्षाटन सिकाउनु भएको छ । परिव्रज्या सिकाउनु भएको छ । हे जनताजनार्दन , ऋषिहरु अकिन्चन थिए । रुखका बोक्राका लंगौटी कस्थे , कन्दमूल खोजेर खान्थे ।  मुनिहरु जस्तोसुकै दुःखकष्टमा पनि मौन बस्थे  मौनता नै तपस्या थियो । यसै मौनताबाट तिनीहरुको नाम मुनि भएको थियोे । हे जनता जनार्दन, यति पवित्र भूमिमा जन्मेका तपाइँहरु ऋषि किन नहुने ? मुनि किन नहुने ? बुद्ध किन नहुने ? परिव्रज्या किन नलिने ? लिनुहोस्, परिव्रज्या लिनुहोस् । बढीभन्दा बढी जनता जनार्दनले परिव्रज्या लिनुहोस् । बीस तीस पचास लाखले किन ? करोडले परिव्रज्या लिनुहोस् । कोटि कोटि जन परिव्राट् बन्नुहोस् । खाडी मुलुकहरु छन् । जान पाइन्छ । जानुस् । अरु मुलुक पनि छन् । जहाँ जान सक्नुहुन्छ त्यहाँ जानुहोस् । सके बाँच्नुहोस् नसके मरिदिनुहोस् । विदेशमा मर्नुको पनि इज्जत छ । बाकसमा सुतेर नेपाल फर्कन पाइन्छ ।
हो, हामीसँग सम्वेदना छैन । दुःखित पीडितहरुसँग सहानुभूति छैन । समानुभूति त छँदैछैन । त्यो हाम्रो संस्कारमै छैन । हामी जे पनि भन्न सक्छौं । अरुको दुःखमा हाँस्न रमाउन पनि सक्छौं । दुःखीलाई गिज्याउन सक्छौं । दुःखमा दुःख थपिदिन पनि सक्छौं । हामी अनशन बसेका सत्याग्रहीलाई अजीर्ण भएर लम्पसार परेको बुढो भनिदिन पनि सक्छौं । हामीलाई अनुप्रास प्रिय छ । अनुप्रास मिलाएर हामी जे पनि भन्छौं । भनिआएका छौं । यस्तै हो ।

हामी त लोभी भयौं । पापी भयौं । द्रव्यपिशाच भयौं । भोगी विलासी भयौं । भोगविलास धान्नकै लागि पनि राजनीतिमा लाग्यौं । हामी राजनीतिमा डुव्यौं । फालीगुण्डा, जालीठेकेदार, सर्वतोमुखीतस्कर र भ्रष्ट कर्मचारीहरुसँग मिलेर हामीले प्रकारान्तरले देश खाएका छौं । जनता खाएकाछौं । हामी जति खाए पनि नपुग्ने दरिद्र बनिसकेका छौं ।

हामी त्यागी बन्न सक्दैनौ । यदाकदा अजीर्णले गिडगिडाउने अपानवायु बाहेक हामी अरु केही त्याग गर्न सक्दैनौं । हे जनता जनार्दन, हामी त डुव्यौं । हाम्रो निस्तार छैन । तपाइँहरु नडुव्नुहोस् । राजनीतितिर लालायित नहुनुहोस् । तपाइँहरुका लागि त्यागकै बाटो ठीक छ । अझै त्याग गर्न सिक्नुहास् । आफु भोको बसेर पनि सरकारलाई कर तिर्नुहोस् । हामी नयाँ नयाँ ऐन बनाएरै तपाइँहरुमाथि कर लगाउँदै छौं । थरी थरी कर लगाउँदै छौं । हामी तपाइँहरुका खुट्टामा पनि कर लगाइदिन सक्छौं । हिँड्दा बाटो खिइन्छ त तपाइँका खुट्टामा कर किन नलाग्ने ? हामी स्थानीय तहदेखि केन्द्रीय तहसम्म उक्लेका हज्जारौं करभोजीहरु छौं । तपाइँहरुले तिरेको करकै ताकतमा हामी तपाइँहरुमाथि शासन गर्छौं । तपाइँकरुले तिर्ने कर नै हाम्रो तागत हो । हाम्रो भोजन हो । लत्ताकपडा र सुखसयल हो । तपाइँहरुले तिर्ने करबाटै हाम्रा राजसी रइसी गाडीहरु किनिन्छन् । महलहरु बन्छन् । व्ल्याकलेवल र ब्ल्युलेबलहरु जुटाइन्छन् । हामी आफ्नो विकास र समृद्धिका सडकमा गतिशील गतिमा घुइँकिन्छौंं । दु्रतगामी विमानमा अक्कासिन्छौं । कहिले जमीन कहिले आकाश । कहिले नेपाल त कहिले अमेरिका । कहिले यहाँ त कहिले वहाँ । हामी हाम्रो लागि होइन हाम्रो राजसी व्यवस्थाका लागि र तपाइँहरुको इज्जतका लागि करदोहन गर्दैछौँ । चारै थुनबाट दुध नदिए गाइको के इज्जत ? किसिम किसिमका कर नतिरे जनताको के इज्जत ? तपाइँहरुलाई इज्जत दिनु हाम्रो वाध्यता हो । हामी धेरै कुरामा वाध्य छौँ । हामीलाई पनि  सुख त कहाँ छ र ? बरु तपाइँ जनताजनार्दनलाई हाइ सुख छ । आन्नन्द छ । मस्ती छ । अजीर्णको डर छैन । टाउको दुख्दैन । पेट दुख्दैन । चोरीको डर छैन । छाप्रामा त चोर पस्यो नै भने पनि आफ्नै खल्तीको नोट छोडेर जान्छ होला । केही लिएर जाँदैन । भए पो लगोस् । हामीकहाँ चोर पस्योभने श्रीमतीको गहना मात्रै बोकेछ भने पनि करोड बोक्छ । हामीलाई कहिले चोरले सुन बोक्ने डर । कहिले अख्तियारका कमिलाले किटिक्क टोक्ने डर । कहिले जुत्ताका मालाको त कहिले कालेमोसोको डर । कहिले सुकोमल गालामा खस्रा हातका चड्कनको डर । कतै घेर्लान् कि भन्ने डर, कतै मार्लान् कि भन्ने डर । सडकमा निस्कँदा सडककै डर, गल्लीमा पस्दा गल्लीकै डर । आकाशको डर, भुइँको डर । तपाइँहरुलाई कुनै कतै डर छैन । तपाइँहरु सडक पेटीमा पनि निर्धक्क सुत्न र निदाउँन सक्नुहुन्छ । हामीले त्यो शान्ति त्यो आनन्द त्यो निर्धक्क कहाँ पाउने ? हामीलाई त यहाँबाट त्यहाँ जान पनि बुलेटप्रुफ गाडी चाहिन्छ , सुरक्षाकर्मीहरुको स्कर्टिङ् चाहिन्छ । हामीलाई गाह्रो छ । एक पुस्तालाई कमाउन त गाह्रो छ भने सात पुस्तालाई पुग्ने गरी कमाउन धेरै गाह्रो छ । यसैले कहिले मत्स्यरुप धारण गरेर सूनका जहाज तान्नुपर्छ । कहिले रातो पासपोर्ट बेच्नुपर्छ । इमान जमान त दिनदिनै बेच्नुपर्छ पानीघँैंटेले बाल्टीका बाल्टी दुध बेचेजस्तै ।

हे जनता जनार्दन, यो देशमा नेता हुन गाह्रो छ । सत्तासीन हुन गाह्रो छ । रोग लाग्दा उपचार गर्न अमेरिका पुग्नु पर्छ । व्याङ्कक पुग्नुपर्छ । राष्टिय ढुकुटीबाट करोडाँै रकम बोकेरै पुग्नु पर्छ । साथी सँगाती र श्रीमती पनि लिएरै पुग्नुपर्छ । यस देशमा नेता हुन गाह्रो छ । जनता जनार्दन हुन सजिलो छ । भोक लाग्दा भए खाने नभए कम्मरमा डोरी कस्ने । बिरामी हुँदा जङ्गलको झारपात पिसेर खाने । निको भए भइन्छ नभए रामनाम जप्ने । देहत्याग गर्ने । हामी राजनीति गर्नेहरुलाई, हामी राजनेताहरुलाई, हामी सत्तासीनहरुलाई यस्तो सजिलो छैन हजूर, छैन । चाँजोपाँजो मिलाउनै गाह्रो छ ।

हामीलाई आवाजदेखि डर लाग्छ । आवाज बन्द गर्नै गाह्रो छ । हामीलाई समस्यासँग डर लाग्छ समस्या निप्ट्याउनै गाह्रो छ । कहिले केसीका समस्या, कहिले बेसीका समस्या । हामीलाई गाह्रो छ । हे जनता जनार्दन, दुहुना गाईहरुलाई मात गर्ने यति सीधासादा तपाइँहरुजस्ता जनताजनार्दनका नेता हुन पाउँदा पनि हामीलाई गाह्रो छ । हामी जोगी हुन राजनीतिमा आएका होइनैाँ । हामी वैयक्तिक आशक्ति छोडेर राजनीतिमा आएका होइनौं । हाम्रा आशे पासे आफन्तहरु छन् । लगानीकर्ताहरु छन् । तिनलाई अर्बपति बनाउने प्रतिबद्धताहरु छन् । यसै कारण पनि हामीलाई गाह्रो छ । धेरै गाह्रो छ ।
हे जनताजनार्दन, यति भन्दै म आफ्नो दुई शव्द यहीँ टुंग्याउँछु । धन्यवाद ! जयनेपाल !! लालसलाम !!!

 

प्रतिक्रिया दिनुहोस