माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई कम्युनिस्ट पार्टी एकतालाई औपचारिकता दिन मात्र बाँकी रहेको बताएका छन् ।
नेकपा एमाले भ्रातृ संगठन युवा संघका पदाधिकारीसँग मंलवार दिउँसो भएको भेटमा यस्तो बताएका हुन् । पार्टी एकतालाई निष्कर्षमा पुर्याउन दबाब दिने उद्देश्यका साथ युवा संघका पदाधिकारीले दाहाललाई भेटेका थिए ।
''यो पटकको निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको पहिलो निर्वाचन हो । त्यसैले हामी सबै खुशी र गर्वको कुरा त थिँदै थियो । त्यसमाथि अब नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्यले निर्वाचनमा वाम गठबन्धनको तर्फबाट एमाले र माओवादी केन्द्रले साझा उमेदवार र घोषणापत्र सार्वजनिक गर्यौं । हामी झन्डै दुई तिहाई बहुमतको नजिक छौं," उनले भने, "केपी ओली र मेरो पहलमा भएको पार्टी एकता र चुनावी तालमेललाई दुवै पार्टीका नेता तथा कार्यकर्ता र राष्ट्रले पनि अनुमोदन गरिसक्यो । हामी यसलाई निष्कर्षमा पुर्याएर औपचारिक रुप दिन मात्र बाँकी छ । हामी त्यसमा प्रतिबद्ध छौं ।"
उनले आफूहरु जीवनको उत्तरार्धमा पुगिसकेको बताउँदै देशको जिम्मा युवाहरुलाई लगाएर जाने जोडसमेत दिए । युवा संघ नेपालका पदाधिकारीहरुसँग प्रचण्डले भने, ''देश अब युवाहरुको हातमा आउँदैछ, हाम्रो चाहना के हो भने एउटा यस्तो परिस्थिति बनाएर देश जिम्मा लगाएर जाउँ । हामीले बाटो कोर्दिने मात्र हो ।''
प्रतिक्रिया दिनुहोस