पूरा गर्नुपर्ने धेरै काम बाँकी छन् : गृहमन्त्री श्रेष्ठ

रासस

शनिबार, ०९ बैशाख २०८०, १८ : ०६
पूरा गर्नुपर्ने धेरै काम बाँकी छन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकि कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरु भईरहेको जिकिर गरे ।

एक दशक भन्दा बढि समय बित्दा पनि संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कामले पूर्णता पाउन नसकेकाले अहिले त्यसलाई पूरा गर्न क्रियाशील हुनुपरेको उनको भनाइ थियो । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी काम छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगको कामलाई पूरा गरेर मात्रै हामीले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सक्छौं, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सक्छौं । यो शान्ति प्रक्रियाको बाँकी काम अहिले हामीले हरहालतमा पूरा गर्र्नु छ । धेरै दशकभन्दा बढि बित्यो । डेढ देश वितिसक्यो । तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं ।’

संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष बितिसकेको भन्दै उनले थपे, ‘तर हामीले यो काम पूरा गरेका छैनौं । र, यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रुपमा विभिन्न प्रयत्नहरु भईराखेका छन । त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकि कामलाई पूरा गर्नु छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन समेत दिए । मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको उनको भनाइ छ । जनताको अपेक्षालाई पूरा गर्न र यो परिवर्तनको औंचित्यलाई पुष्टि गर्न पनि सरकारले आर्थिक समृद्धिको यात्रालाई तीव्रता दिने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस