अदालतको आदेशको सम्मान गर्दै पछि हट्यो महानगरपालिका

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०७५, १८ : २८
अदालतको आदेशको सम्मान गर्दै पछि हट्यो महानगरपालिका

चितवन । भरतपुर महानगर क्षेत्रभित्र पर्ने पूर्वपश्चिम राजमार्ग, भरतपुरको बाइपासरोड र नारायणगढ मुग्लिन सडकखण्डमा साउन पाँच गते शनिबार (भोलि) देखि तीनपांग्रे सवारीसाधन व्यवस्थापन गर्ने अडानबाट तत्कालका लागि भरतपुर महानगर पछाडि हटेको छ ।

भरतपुरमा रहेको ईरिक्सा तथा अटो व्यवसायी समितिका पदाधिकारी लगायतले उच्च अदालत पाटन हेटौँडा इजलासमा भरतपुर महानगरको तीनपांग्रे सवारी व्यवस्थापन सम्बन्धी कामकारबाही तत्कालका लागि रोक्न निषेधाज्ञा माग गर्दै हिजो बिहीबार निवेदन दिएका थिए । निवेदनमाथि हेटौँडा इजलास एक न्यायाधीशको इजलासबाट न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यले बिहीबार नै निषेधाज्ञा उत्प्रेषण परमादेश जारी गर्नु भएपछि महानगर आफ्नो निर्णयबाट पछाडि हट्न बाध्य भएको हो । उहाँले जारी गर्नुभएको परमादेशमा साउन सात गते सोमबारलाई अन्तरिम आदेश छलफलको लागि पेशी तोकिएको छ । सोमबारसम्म भरतपुर महानगरपालिकाको तीनपांग्रे व्यवस्थापन सम्बन्धी निर्णय कार्यान्वयन नगर्नु भनी परमादेशमा उल्लेख छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अदालतको आदेशको सम्मान गर्दै तत्कालको लागि तीनपांग्रे सवारी व्यवस्थापन सम्बन्धी कामकारबाही अगाडि नबढाइने बताउनु भयो । उहाँले अदालतको अहिलेको आदेश र बहस, छलफलपछि भोलिका दिनमा हुने फैसलाको आफूहरुले पूर्ण पालना गर्ने बताउनु भयो । भरतपुर महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, भरतपुर महानगरपालिकाको बजार व्यवस्थापन समितिलाई विपक्षी बनाएर निवेदन दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस