काठमाडौं। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा हाल सम्मकै उच्च रन बनाएको छ। एसीसी पुरुष प्रिमियर कप क्रिकेटअन्तर्गतको दोस्रो खेलमा ओमानविरुद्ध नेपालले ३१० रन बनाएको हो। शुक्रबार एकदिवसीय क्रिकेटको ५०औं खेल खेलेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३१० रन बनाएको हो। कुशल मल्ल र सोमपाल कामीको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपालले उक्त योगफल खडा गर्न सकेको हो।
सोमपाल कामीले नटआउट रहँदै ४८ बलमा ६३ रन बनाएका हुन्। उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए। नेपालको ब्याटिङ लाइन धरमराएका बेला मल्लले उत्कृष्ट प्रदर्शन गर्दै शतक प्रहार गरेका थिए। नेपालले सातौं विकेट गुमाउँदा मल्ल १०८ रन बनाएर आउट भएका थिए। ६४ बल सामना गरेका मल्लले १० छक्का र ९ चौका प्रहार गरे। एकदिवसीय खेलमा मल्लको पहिलो शतक हो। उनले ५ वटा अर्धशतक बनाएका छन्।
पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख खाता समेत नखोलेर बाहिरिएका थिए। कप्तान रोहित पौडेल र भीम सार्कीले नेपाललाई लयमा ल्याउने प्रयास गरे। पौडेल २३ र सार्की ३४ रन बनाएर बाहिरिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ बैशाख २०८०, १२ : ५८
लेखकबाट थप