संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०७५, १६ : १८
संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणका लागि विधेयकहरु छिटोभन्दा छिटो संसदमा पेश गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

सभामुख महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण गरेर मात्रै संघीयता कार्यान्वयनमा देखिएका समस्यालाई हल गर्न सकिने पनि स्पष्ट पार्नुभयो । उहाँले संघीयता कार्यान्वयनका लागि कानुन तर्जुमा गरेर प्रदेश र स्थानीय तह संचालन तथा केन्द्र सरकारको सहजीकरणको कामलाई प्रभावकारी बनाउन सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।

जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा  कार्यक्रममा बोल्दै उहाँले सन् २०३० भित्र मुलुकलाई विकसित राष्ट्र बनाउने सरकार र राजनीतिक दलहरुको साझा लक्ष्यलाई हासिल गर्न लागि पर्न पनि सांसदहरुलाई सचेत गराउनुभयो । सभामुख महराले दिगो विकासमार्फत् मुलुकलाई समृद्ध बनाउन पनि दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको स्मरण गराउनुभयो ।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले दिगो विकासको लक्ष्य हासिल हुनेगरी संविधान कार्यान्वयनको मूल कडिको रुपमा रहेको कानुन निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउने संकल्पलाई पूरा गर्न आफ्नो पार्टीले अधिकतम पहल गरिरहेको दावी पनि गर्नुभयो ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान कार्यान्वयनको मुख्य चुनौतिको रुपमा रहेको कानुन निर्माणको काममा ढिलाई गर्न नहुनेमा जोड दिनु भयो । उहाँले कानुन निर्माणका लागि आवश्यक विधेयकको तर्जुमा गर्दा संसद भित्र र बाहिर पनि व्यापक छलफल  गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

प्रमुख सचेतक खाँडले संघहरु निर्माण भएपनि नेताहरुको केन्द्रिकृत मनस्थितिका कारण त्यसलाई कार्यान्वयनमा लैजान कठिनाई भईरहेको पनि स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस