गलकोटमा निःशुल्क आँखा शिविर, ५७५ जना लाभान्वित

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, ११ : ०९
गलकोटमा निःशुल्क आँखा शिविर, ५७५ जना लाभान्वित

गलकोट। बागलुङको गलकोट नगरपालिका–३ हटियाका टेकबहादुर नेपालीको मोतिया बिन्दुको समस्याका कारण दुवै आँखामा समस्या थियो। गाउँमै आयोजना गरिएको निःशुल्क शल्यक्रियामार्फत नेपालीसहित ८५ जनाको शल्यक्रियामार्फत उपचार गरिएको छ।दुवै आँखा पुरानै अवस्थामा फर्केपछि दङ्ग परेको नेपालीको भनाइ छ। “दुवै आँखामा मोतिया बिन्दुको समस्या थियो, शल्यक्रियामार्फत आँखा देख्ने अवस्थामा पुगेँ”, नेपालीले भने, “गाउँमै आँखाको उपचार होला भनेर सोचेकै थिइनँ, अहिले उपचारपछि खुसी छु, भैरव आँखा उपचार केन्द्रले ठूलो गुन लगायो।”

दुवै आँखाको उपचारपछि स्थानीय नन्दी पुनसमेत खुसी भएकी छन्। उनले गाउँमै आँखा उपचारपछि खर्च र समयको बचत भएको बताइन्। गलकोटस्थित मल्ममा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट पाँच सय ७५ जना लाभान्वित भएका छन्। आँखा शिविरमा लाभान्वितमध्ये ८५ जनाको आँखाको शल्यक्रिया गरिएको थियो।गलकोट नपा–७ आँगाखेतमा बिहीबार सम्पन्न तीन दिने निःशुल्क आँखा शिविरबाट गाउँमै आँखाको उपचार तथा शल्यक्रिया सेवा पाउँदा स्थानीय खुसी भएका छन्।

श्री कृष्ण भैरव आँखा उपचार केन्द्रको आयोजना, श्री कृष्ण नेत्रालय भैरहवाको प्राविधिक सहयोग, हरिकृष्ण आइकेयर फाउन्डेसन र लायन्स क्लब अफ बुटवल मणिउजेशको सहयोग र गलकोट नपा–७ को संयोजनमा आयोजना गरेको आँखा शिविरका क्रममा पाँच सय ७५ जनाको आँखा जाँच गर्दा ८५ जनाको आँखाको समस्या देखिएकाले शल्यक्रियामार्फत उपचार गरिएको श्रीकृष्ण भैरव आँखा उपचार केन्द्रका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिएका छन्।

शिविरमा स्थानीय सङ्घसंस्था र महिला समूहले सहयोगी भूमिका निभाएका थिए। आँखामा समस्या भएर देख्न नसक्नेलाई शल्यक्रियामार्फत उपचार गरिएको श्रीकृष्ण नेत्रालयका प्रमुख चिकित्सा निर्देशक डा सल्मा केसीले जानकारी दिइन्। ग्रामीण क्षेत्रका जनतालाई घरदैलोमै विशेषज्ञ सेवा प्रदान गरी स्वास्थ्यलाभ प्रदान गर्न शिविर सञ्चालन गरिएको डा केसीले बताइन्। सेवा लिन गलकोटसहित छिमेकी पालिका र छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिकाबाट समेत आँखाका बिरामी आएका थिए।

प्रतिक्रिया दिनुहोस