सिरहाको मिर्चैया बजार तनावग्रस्त, स्थानीयवासी र प्रहरीबीच झडप

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, १४ : १४
सिरहाको मिर्चैया बजार तनावग्रस्त, स्थानीयवासी र प्रहरीबीच झडप

सिरहा । सिरहाको मिर्चैया बजार तनावग्रस्त बनेको छ । बिहीबार प्रदर्शन गर्दै नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । उनीहरूले आफूहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी प्रदर्शन गरेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोजेका थिए ।

प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो । त्यसक्रममा प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरेको छ । आक्रोशित स्थानीयले नगरपालिका कार्यालय तोडफोड गरिदिएका छन् ।

उनीहरूले मेयर श्रवणकुमार यादव चढ्ने सवारी साधन पनि तोडफोड गरेका छन् । झडपका क्रममा १५–२० जना प्रदर्शनकारी घाइते भएको स्थानीय हरिकिशोर साहले जानकारी दिएका छन् । नगरपालिकाभित्र रहेका रहेका मेयर यादवका मान्छेहरूले आफूहरूमाथि ढुंगामुढा गरेको पनि स्थानीय अगुवा साहले आरोप लगाए । यता, सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इबालिम्बुले पाँच सुरक्षाकर्मी घाइते भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस