अमेरिकी राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग भेट

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०७५, १२ : ०६
अमेरिकी राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिज ले शुक्रबार बिहान निवास खुमलटारमा भेट गर्नुभएको छ । आफ्नो कार्याकाल सकाउन लाग्नुभएकी टेप्लिजले अध्यक्ष प्रचण्डसँग बिदाई भेट गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भन्नुभयो, ‘तपाईको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपाईले खेलेको भूमिका सकारात्मक रह्यो ।’ अध्यक्षले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायीत्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताउनुभयो । उहाँले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो । नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रिया लगायतका ठूला ठूला चुनौतिहरुमा नेतृत्वदायी भूमिका खेल्नुभएका अध्यक्ष प्रचण्डको प्रशंसा गर्नुभयो । उहाँले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरता पछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस