जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । जसरी बाह्य शारीरिक अवस्थाको प्रभाव मनमा पर्छ उसरी नै मानसिक विचारहरुको प्रभाव पनि शरीर स्वास्थ्यमा पर्छ । यस गम्भीर तत्वलाई धेरै कम मानिस बुझ्दछन् ।
शारीरिक रोगहरुलाई हटाउनको लागि अनेक नयाँ–नयाँ चामत्कारिक औषधीको आबिष्कार हुँदा पनि रोगहरुको प्रसार धेरै हुँदै गइरहेको छ । रोगको मुख्य स्थान मन हो र मनमा नै रोग हटाउने शक्ति पनि छ । सब रोगहरुलाई हटाउने अद्वितीय साधन प्रत्येक मानिसको साथैमा छ । तैपनि मानिसहरु रोगले पीडित रहन्छन् । हाम्रा बिचार र इच्छाहरुको प्रभाव शरीरका अवयवहरु र ज्ञान तन्तुहरुमा कल्पनातीत रुपमा पर्दछ । यस विषयको विचार कोही–कोही मात्र गर्दछन् । बुद्विमान् मानिस स्वास्थ्य तथा आनन्दको मात्रा बढाउनका लागि विचार शक्तिको प्रयोग गर्ने विशेष सम्मति दिन्छन् र उत्साहित हुन्छन् किनभने विचार मानिसका अधिनमा छन् । यसैले मानिसले यिनको प्रयोग गरेर सदैव सच्चरित्रवान् बन्ने प्रयत्न गर्नु पर्दछ ।
यदि तिम्रो मित्र दुःखी छ भने तिमी आफ्नो मनले उसलाई शुभकामना पठाउ । एकान्तमा बसेर बल र प्रशन्नताका लहरहरु उसका शरीर तथा आत्माहरुमा पठाउ । अरुको लागि शुभकामनाको विचार धारण गर्नाले आफ्नो स्वास्थ्य तथा आनन्दको वृद्वि हुन्छ । मनुष्यका शरीरमा विचारको लहरहरुको प्रभाव अवश्य पर्दछ । चाहे राम्रो होस् वा नराम्रो । त्यसैले यदि तिमी आफ्नो स्वास्थ्य ठिक राख्न चाहन्छौ भने आफ्ना विचारहरुलाई शुद्व गर तव मात्र उत्तम जीवनको लाभ होला । यदि स्वास्थको इच्छा छ भने सर्वप्रथम आफ्नो शरीररुपी रथलाई शुद्व, पवित्र तथा स्वच्छ राख्नु पर्दछ ।
यसरी शरीररुपी रथका अति चञ्चल अश्वरुपी इन्द्रियहरुलाई मनरुपी लगामले बुद्विरुपी सारथीद्वारा नियमित मार्गबाट हिँडाएमा स्वास्थ्य प्राप्ति अवश्य हुन सक्दछ । तर, यदि हामीले मनरुपी लगामलाई किञ्चित् पनि खुकुलो ग¥यौं भने इन्द्रियरुपी अश्व शरीररुपी रथलाई अनुचित मार्गबाट अवश्य लैजाने छन् । यसबाट हाम्रो स्वास्थ्य, ज्ञान तथा बल अवश्य नष्ट हुनेछ । यही कुरा उपनिषद्हरुमा पनि भनिएको छ, ‘आत्मालाई रथी जान र शरीरला रथ, बुद्विलाई सारथी तथा मनलाई लगाम, इन्द्रियहरुलाई घोडा तथा विषयहरुलाई मार्ग (बाटो) जान । इन्द्रियरुपी घोडाहरुलाई मनरुपी लगामबाट बुद्विरुपी सारथीद्धारा निर्दिष्ट पथमा लग्यौ भने इष्ट स्थानरुपी ईश्वर प्राप्ति अथवा स्वास्थ्यरुपी फल प्राप्ति अवश्य होला ।’
आरोग्यता मानिसको स्वभाविक जीवन हो तर केवल शरीरको आरोग्यता पूर्ण स्वास्थ्य होइन, शरीर र मन तथा आत्मा तीनवटैको स्वस्थ्यता नै पूर्ण आरोग्यता हो ।
प्रत्येक मानिस यो जान्दैनन कुन उपायले तीनवटैलाई निरोगी राख्न सकिन्छ । जो यस कुरालाई जान्दछ ती बिना औषधी नै आफूलाई निरोगी राख्न सक्दछन् ।
वर्तमानकालका उच्चतम खोजहरुबाट यो कुरा राम्रोसँग सिद्व हुँदै गइरहेछ–रोगहरुको जड शरीरमा नभई मन र भावहरुमा छ । जबसम्म यी दुबैको शुद्वि गरिँदैन तबसम्म रोग कदापि निर्मूल हुन सक्दैन । रोगहरुको सबभन्दा ठूलो कारण रोगहरुको चर्चा गर्नु र सुन्नु हो । यसैबाट रोगहरुको विचार मनमा पुष्ट हुँदै रहन्छ र शरीरमा यिनको सुस्त–सुस्त प्रभाव परेर शरीर निर्वल हुन जान्छ । यसैले सदा अरोग्यताको चर्चा गर । निरोगी मानिसहरुको संगत र आरोग्यताका विचार नै आरोग्यता बढाउने हुन्छन् ।
‘संसारको कुनै बस्तु दुःखदायक छैन।’ यस वाक्यको निरन्तर जप गर । जबसम्म यसको प्रभाव तिम्रो मनमा जम्दैन, आरोग्यताको लागि बाह्य साधनहरुको आवश्यकता छैन । आरोग्यता र समग्र सुख विचारहरुको शक्तिको ज्ञानले र प्रभावले आफ से आफ आर्कषित र प्राप्त हुन सक्छन् । हामी आफ्नो अज्ञान र विचारहरुबाट नै क्लेश उठाउँछौं, दुःखी हुन्छौं र अरुलाई समेत दुःखी पार्दछौं ।
जो सदा दुःखको विचार गर्दछन् र कहिल्यै आनन्दका विचारहरुको एक रेखा पनि देख्दैनन् ती आफ्नो शरीरको नडी–जाल उस्तै नै बनाउँछन् किनभने जाडी–जाल उनै विचारहरुबाट बन्दछन् । यसैले विचारहरुको राम्रो नराम्रो प्रभाव पूर्णतया नाडीहरुमा निरन्तर पर्दै रहन्छन् । यो सर्वमान्य हो शरीरका सब पीडाहरुको कारण मनमा नै छ । सुख दुःखको अनुभव गर्नु, विचार गर्नु र कार्य गर्नु यी तिनवटै काम मन नै गर्दछ । शरीर केवल निर्जीव यन्त्र र आत्माको घर हो । आत्मा हुनाले नै कार्य गर्न सक्दछ, होइन भने शरीर त माटाको ढिस्को हो । तिमी आरोग्य चाहन्छौ भने बोतलबाट मिल्न सक्दैन । मनमा विकारहरुको प्रभाव शरीरका भिन्न–भिन्न अवयवहरुमाथि भयङ्कर रुपमा पर्दछन् । क्रोध गर्नाले भोक मर्दछ । रक्तप्रवाह अव्यवस्थित हुन जान्छ र सारा शरीरमा विकार निस्कन्छ । शोक र चिन्ताबाट शरीरको नाश हुन जान्छ र सारा शरीरमा विकार निस्कन्छ । जुनसुकै पनि रोग विचार–शक्तिको शिथिलताबाट नै हुन्छ । यसैले विचार–शक्तिलाई बलवान बनाउनु पर्दछ । भय,चिन्ता आदि वृतिहरुको वेगले चित्तलाई अस्थिर गरिदिन्छ र हृदयको धड्कनलाई तीव्र गर्दछ । यसबाट नाडी–नाडीमा विकार उत्पन्न हुन जान्छ । मनलाई एक स्थानमा लगाउनका लागि श्रद्वा नै मुख्य उपाय हो र भय तथा क्लेशहरुबाट बाँच्ने उपाय अन्तर्यामी परमात्माको शरणमा जानु हो ।
यदि हृदय अनियमितरुपमा धड्कन्छ भने यसैबाट शक्ति क्षीण हुन्छ । जस्तो शोक र भय स्वास्थयलाई बिगार्दछन् उस्तै नै प्रसन्नता, निर्भयता र उत्साह चिरजीवनलाई बनाउँछन र नियमित रीतले हृदय धड्कनमा सहायक हुन्छन् । यदि कुनै विरोधी विचार मनमा उत्पन्न हुन्छ भने तत्काल निकालेर मनलाई श्रद्वा र उत्तम विचारहरुमा प्रवृत गर्नु पर्दछ । यस प्रकार मनलाई आफ्नो वशमा गर्नाले आफ्ना शक्तिहरुलाई शीघ्र नै जागृत गर्न सक्ने छौं ।
आफ्ना प्रत्येक विचारको शुद्वता र अशुद्वताको निर्णय यसबाट गर्नु पर्दछ । रत्तको गतिमा त्यसको के प्रभाव परिरहेछ । जसको जस्तो कारण हुन्छ, उसको कार्य पनि उस्तै नै हुनेछ । संसारमा कार्य–कारणको नियम बडो प्रमाणिक छ ।
रक्तको गति ठीक रहनाले शरीरको स्वास्थ्य ठीक सम्झनुपर्छ, किनभने जुन भागमा रोग हुन्छ त्यस भागको रगत विग्रन्छ । आकस्मिक शोक, भय, हर्ष तथा साहसको कारण हृदयको धड्कनमा भेद हुन जान्छ । कहिलेकाँही धड्कन बन्द पनि हुनजान्छ ।
यदि तिमी क्रोध, मान, ईष्र्या, लोभ वा अन्य कुनै वासनाको अधीन रहन्छौ र उत्तम स्वास्थ्यको इच्छा गर्दछौ भने यो असम्भव छ । यस्तो कदापि हुन सक्दैन तिमी नराम्रो विचार गर तै पनि तिम्रो स्वास्थ्य राम्रो होस । ( साभार : खप्तड बाबाको पुस्तक ‘विचार–विज्ञान’ को एक अंश )
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०७५, १७ : ३७
लेखकबाट थप