सुरु भयो देवघाटधाममा बोल ऊँ महोत्सव, चार लाख भक्तजन आगमनको अनुमान

विहीबार, ०३ साउन २०७५, १४ : १५
सुरु भयो देवघाटधाममा बोल ऊँ महोत्सव, चार लाख भक्तजन आगमनको अनुमान

चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा बोल ऊँ महोत्सव भक्तजनहरुको संख्यामा वृद्धि हुने देखिएको छ । यस बर्ष बोल ऊँ महोत्सवलाई मध्यनजर गर्दै देवघाट क्षेत्र विकास समितिले देवघाटसम्म पुग्ने बाटोलाई साढे २ मिटर फराकिलो पारेको छ ।
देवघाटको प्रवेशद्वार आँपटारीदेखि बाटोलाई साढे ५ मिटर चौडा पार्ने काम ९५ प्रतिशत काम पूरा भईसकेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो । ‘गत बर्ष ३ लाख भक्तजनहरु बोल ऊँ महोत्सव सहभागी भएका थिए’ उहाँले भन्नुभयो, ‘यस बर्ष यो संख्या बढेर चार लाख पुग्ने अनुमान गरेका छौँ ।’ नदीको बहाव बढेकाले स्नान गर्ने स्थानमा सीमा तोक्ने काम भइसकेको उहाँले जानकारी दिनुभयो ।
गत बर्षको बोल ऊँ महोत्वसवमा भन्दा यसपटक १ लाख भक्तजन बढ्ने महोत्सव आयोजक संस्था देवघाट संरक्षण समितिको अनुमान छ । नारायणगढ मुग्लिन सडकखण्डको निर्माण कार्य सकिएकाले पनि भक्तजनहरुको संख्या बढ्ने आयोजकले विश्वास लिएको छ ।
क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले देवघाटधाममा गलेश्वर आश्रमले निर्माण गरेको शिव पाञ्चायन मन्दिरका कारण भक्तजनहरु बढ्नेमा आफू आशावादी रहेको बताउनु भयो । उहाँले महोत्सव अवधिभर अप्रिय घटना हुन नदिन समितिले चितवन र तनहुँका सुरक्षा निकायसँग छलफल गरिसकेको जानकारी दिनुभयो । सुरक्षालाई दृष्टिगत गरी झोलुङ्गे पुलमा एक पटकमा ८० देखि सय जनासम्म मात्र आवागमन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस