डा. केसीलाई लिन काडमाडौंबाट हेलिकप्टर पठाईयो, डा. केसी भन्छन्– मलाई सरकारले अपहरण गर्न लाग्यो

सफल खबर संवाददाता

विहीबार, ०३ साउन २०७५, १० : ०८
डा. केसीलाई लिन काडमाडौंबाट हेलिकप्टर पठाईयो, डा. केसी भन्छन्– मलाई सरकारले अपहरण गर्न लाग्यो

काठमाडौँ । जुम्लामा २० दिनदेखि अनशनमा बसेका डा. गोविन्द केसीलाई लिन सरकारले नेपाली सेनाको हेलिकोप्टर पठाएको छ । हेलिकोप्टर जुम्ला पुगिसकेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएका हुन् ।

बुधबार बेलुका प्रधानमन्त्रीसहित केही मन्त्रीहरुको बैठकले डा. केसीलाई काठमाडौं ल्याउने निर्णय भएको थियो ।
डा. केसीलाई लिन डा. गुणराज लोहनीलाई त्यसतर्फ पठाइएको छ । शिक्षमन्त्री पोखरेलका अनुसार डा. केसीलाई काठमाडौं ल्याएपछि  त्रिवी शिक्षण अस्पतालमा राखिने छ।

केसीको स्वास्थ गम्भीर भएको भन्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल रिपोर्ट दिएपछि नेकपाले उनको सुविधासम्पन्न अस्पतालमा उपचार गरिनुपर्ने निष्कर्ष निकाल्दै हेलिकप्टरमार्फत काठमाडौं ल्याउने निर्णय गरेको हो ।

यसैबीच, डा. गोविन्द केसीले आफूलाई अपहरणको शैलीमा काठमाडौं नलैजान सरकारलाई चेतावनी दिएका छन् ।
केसीले आज आफूलाई सरकारले अपहरण शैलीमा काठमाडौं लैजाने तयारी गरेको बताउँदै आफू कुनै पनि हालतमा माग पूरा नभएसम्म काठमाडौं नजाने बताएका छन् ।

डा. केसीले माग पूरा गरे आफू अनशन तोड्न तयार रहेको बताएका छन् । उनले गुन्डागर्दी शैली नदेखाउन पनि राज्यलाई चेतावनी दिएका छन् ।

“माग पूरा गर अनशन तोड्छु । यो मेरो पवित्रस्थल हो । चन्दननाथ बाबाको काखमा बसेर मैले सत्याग्रह गरेको छु । जबसम्म माग पूरा हुँदैन म यहीँ जुम्लामा बसेर सत्याग्रह जारी राख्नेछु । मेरो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार छैन । र गुन्डागर्दी चल्दैन । अहिलेको लडाईँ भनेको राज्य माफिया, डन र अधिनायकवाद पोस्नतिर लागेको छ । र जनताको हकविरुद्ध लागेको छ । त्यसविरुद्धको हो । हामी जनताको हक हितको लागि लडिरहेका छौं । माफिया, डन र अधिनायकवादको हार हुन्छ जनताको जित हुन्छ ।”

प्रतिक्रिया दिनुहोस