सरकारको न्युनतम साझा कार्यक्रम कर्मकाण्डी : राप्रपा प्रवक्ता मोहन श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, २४ चैत्र २०७९, १० : ५७
सरकारको न्युनतम साझा कार्यक्रम कर्मकाण्डी : राप्रपा प्रवक्ता मोहन श्रेष्ठ

काठमाडौं। राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन्।  बिहीबार सरकारले सार्वजनिक गरेको साझा न्युनतम कार्यक्रम कर्मकाण्डी र जनतालाई त्रासमुक्त गराउन नसकेको प्रवक्ता श्रेष्ठले बताए ।शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका प्रवक्ता श्रेष्ठले सरकारको न्युनतम साझा कार्यक्रमलाई ‘क्वाँटी’ दस्तावेजको रुपमा रहेको टिप्पणी गरेका हुन् । 

‘न्युनतम साझा कार्यक्रम समस्याको पहिचान गर्न असफल, यथास्थितिमा बदलाव ल्याउन अपूर्ण, भ्रम छर्ने खालको र भागवण्डाको कार्यक्रमको रुपमा मात्रै सीमित रहने ‘क्वाँटी’ दस्तावेज हो,’ उनले भनेका छन्, ‘देशले चरम आर्थिक संकट बेहोरिरहेको त्रासदीपूर्ण अवस्थामा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रममार्फत् जनतामा आशा, विश्वास र भरोसा पैदा गर्न सकेन । अघिल्लो गठबन्धनका कतिपय सकारात्मक विषयलाई पूर्वाग्रही ढंगबाट उपेक्षा गरिएको छ ।’ 

फेसबुकमा प्रवक्ता श्रेष्ठले लेखेका छन् :

अकारण अघिल्लो सत्ता गठबन्धन बदलेर अस्थिरताको मार्गतर्फ अघि बढेको प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम समस्याको पहिचान गर्न असफल, यथास्थितिमा बदलाव ल्याउन अपूर्ण, भ्रम छर्ने खालको र भागवण्डाको कार्यक्रमको रुपमा मात्रै सीमित रहने ‘क्वाँटी’दस्तावेज हो। देशले चरम आर्थिक संकट बेहोरिरहेको त्रासदीपूर्ण अवस्थामा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम मार्फत जनतामा आशा, विश्वास र भरोसा पैदा गर्न सकेन । अघिल्लो गठबन्धनका कतिपय सकारात्मक विषयलाई पूर्वाग्रही ढंगबाट उपेक्षा गरिएको छ ।

देशलाई खोक्रो बनाउने भ्रष्टाचार जस्तो जघन्य विषयलाई राप्रपा समेत सहभागी अघिल्लो गठबन्धनले जुन कडाइ र प्राथमिकता दिएको थियो,  कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाएर कानुनको कठघरामा उभ्याउने विश्वास नागरिकलाई दिइएको थियो, यसपटक यति गम्भीर विषयलाई ‘कदम चाल्ने’ मात्रै भनेर सामान्यीकरण गरिएको छ । साझा कार्यक्रममा उल्लेखित कतिपय विषय कार्यान्वयन हुनेमा आशंका छ जसबाट यो साझा कार्यक्रम केवल ‘कागजी घोडा’मात्रै हुने ठोकुवा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस