काठमाडौं । जिम्बावेमा आगामी जुन-जुलाईमा हुने विश्वकप क्रिकेट छनोट खेल्ने ९ टोलीको टुङ्गो लागेको छ । नामिबियामा भइरहेको क्वालिफायर प्लेअफबाट अमेरिकासँगै यूएईले पनि विश्वकप छनोटमा स्थान पक्का गरेको हो ।
क्वालिफायर प्लेअफमा मंगलबारको दुई खेलको नतिजापछि यूएईले ओडीआई मान्यता बचाउनुका साथै विश्वकप छनोटमा पनि स्थान पक्का गरेको हो । अमेरिकाले ५ मध्ये ४ खेल जितेर ८ अंक जोड्दै शीर्ष स्थान रहेर विश्वकप छनोटमा स्थान बनायो । यस्तै नामिबियाले अन्तिम खेल जित्दै ५ खेलबाट ६ अंक जोडेको छ । एक खेल खेल्न बाँकी हुँदा यूएईको पनि ६ अंक नै छ । हाल यूएई तेस्रोमा छ बुधबार जर्सीसँग अन्तिम खेल खेल्दैछ । उक्त खेलमा हारेपनि यूएईलाई असर गर्ने छैन ।
तर प्रतियोगिताको नियमअनुसार दुई टिमको अंक बराबर भएमा हेड टु हेड हेरिनेछ । यस्तोमा यूएईले यसअघि नै नामिबयालाई पराजित गरिसकेको छ । त्यसैले अमेरिका र यूएई क्वालिफायर प्लेअफबाट शीर्ष दुईमा रहेर विश्वकप छनोटमा पुगेको हो ।
लिग टु बाटै ओडीआई मान्यता जोगाएको नामिबिया भने अभागी बन्दै विश्वकप छनोटमा पुग्न सकेन । नामिबियाले अब अर्को लिग टु खेल्नेछ । लिग टु मा अन्तिम दुईमा रहेपनि यूएईको ओडीआई धरापमा परेको थियो तर प्लेअफबाट यूएईले ओडीआई मान्यता जोगउँदा पपुवा न्यु गिनीले भने ओडीआई मान्यता गुमायो ।
क्वालिफायर प्लेअफमा पपुवा न्युगिनीले चारवटै खेलमा पराजित भइसकेको छ । अब क्यानडासँग बुधबार हुने खेल पपुवा न्यु गिनीका लागि ओडीआई मान्यता गुमाउनुअघि अन्तिम ओडीआई खेल हुनेछ ।
यी हुन् विश्वकप छनोट खेल्ने निश्चित भएका ९ टोली
आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने वान डे विश्वकपमा लागि जिम्बावेमा जुन-जुलाईमा विश्वकप छनोट हुँदैछ । जसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष २ टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछन् ।
जिम्बावेमा विश्वकप छनोट खेल्ने १० मध्ये ९ टोलीको टुङ्गो लागिसकेको छ ।सुपर लिगको पुछारका पाँच टिम श्रीलंका, वेष्ट इन्डिज, जिम्बावे र नेदरल्याण्ड्स (एक टिम टुङ्गो लाग्न बाँकी), लिग टु को शीर्ष तीन टिम स्कटल्याण्ड, ओमान र नेपाल तथा क्वालिफायर प्लेअफबाट अमेरिका र यूएईले विश्वकप छनोट खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ चैत्र २०७९, ११ : २२
लेखकबाट थप