कहाँ पुग्दैछ ३३ किलो सुनकाण्डको छानविन

सफल खबर संवाददाता

सोमबार, ३२ असार २०७५, १९ : ५८
कहाँ पुग्दैछ ३३ किलो सुनकाण्डको छानविन

काठमाडौं ।  गत चैत २० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित छानबिन समितिको म्याद आज १ दिन मात्रै बाँकी छ । म्याद सकिन लाग्दा समितिले सुनकाण्डका मुख्य मालिकसम्म पुग्न सकेको देखिदैन । यसले अब के हुन्छ सुनकाण्डको छानविन भन्ने प्रश्न खडा  गरेको छ ।   तेस्रोपटक थपिएको म्याद असार मसान्तमा समाप्त हुनेछ । सरकारले अब समितिको म्याद नथप्ने लगभग निश्चित छ ।  गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर हराएको भनिएको तस्करीको साढे ३३ किलो सुन प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएपछि पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठनसँगै यसको छानविन अगाडि बढेको थियो ।  समितिले सनम शाक्यको हत्या र नेपालमा हुने गरेको सुन तस्करीको छानबिन गरी जिल्ला सरकारी वकिलको कार्यालय मोरङमार्फत मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।  समितिले गरेको छानबिनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले गत वैशाख १९ गते मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा दर्तासँगै विचाराधिन अवस्थामा छ । त्यसपछि अन्य ६ जनाविरुद्ध पनि सुन तस्करी प्रकरणमा मुद्दा दर्ता भइसकेको छ ।

सुन तस्करी प्रकरणका ६९ जना प्रतिवादीमध्ये ३३ जना मुद्दाको पुर्पक्षका लागि थुनामा छन् भने ४ जनालाई जिल्ला अदालत मोरङले धरौटी र तारेखमा रिहा गरेको छ ।  

सुन तस्करी प्रकरणमा प्रहरीका बहालवाला २ वरिष्ठ उपरीक्षक (एसएसपी), १ जना प्रहरी उपरीक्षक (एसपी) २ जना प्रहरी नायव उपरीक्षक (डीएसपी), १ पूर्व नायव महानिरीक्षक (डीआईजी), १ जना प्रहरी नायव निरीक्षक ९सई०सहितका प्रहरी अधिकारी अहिले थुनामा रहेका छन् । सुन तस्करी प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिले मोरङ उर्लाबारीका चूडामणि उप्रेतीलाई तस्करीको ‘ठूला माछा’को सूचीमा राखेको छ ।

हराएको भनिएको तस्करीको साढे ३३ किलो सुन नेपाल मगाउन व्यवस्थापकको भूमिका खेलेका भनिएका गोरेकै समूहको यातनाका कारण फागुन १७ गते सनमको मृत्यु भएको थियो ।  गृह मन्त्रालयको उच्च स्तरीय समितिले गोरेसहित फरार रहेका एमके अग्रवाल, थुनामा रहेका भुजुङ गुरुङ र छिरिङ वाङ्गेल घलेलाई ‘ठूला माछा’को सूचीमा राखेको छ ।

‘संगठित अपराधको अनुसन्धान गर्दा कुनै पनि अभियुक्तको अपराधिक कार्यमा संलग्नताको आधारमा उसलाई कति सानो र ठूलो भन्ने निष्कर्ष निकालिन्छ,’ सुन तस्करी प्रकरणको छानबिनका लागि गठित समितिका एक सदस्यले भने, ‘अपराधमा संलग्नताको आधारमा गोरे मुख्य अभियुक्त हुन्, गोरेपछि मोहन अग्रवाल, भुजुङ र डेबिट भनिने छिरिङ क्रमश मुख्य अभियुक्त हन ।’

पौडेल नेतृत्वको समितिले साउन २ सम्ममा सरकारलाई बुझाउने गरी अहिले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन तयार पारिरहेको छ ।  प्रतिवेदनमा ४ जना नयाँ भारतीय नागरिकबारे पनि उल्लेख गरिएको समिति स्रोतको दावी छ । नेपालबाट हुने सुन तस्करीमा ठूलो मात्रामा रकम लगानी गर्ने भारतीयको पहिचान भएको व्यहोरा प्रतिवेदनमा उल्लेख गरिने समितिका एक सदस्यले बताए ।

‘समितिको अध्यनमा नेपालमा हवाइ मार्गमार्फत् तस्करी हुने अधिकांश सुन भारतीय बजारमा खपत हुने गरेको उल्लेख गरेको छ । त्यसमा भारती तस्करहरुको ठूलो लगानी हुने गरेको तथ्य पनि बाहिर आइसकेको छ,’ समितिका सदस्यले  भने, ‘तस्करीको सुनमा ठूलो रकम लगानी गर्ने भारतीयको पहिचान भइसकेको छ । यद्यपि अहिले नै उनीहरूको नाम भने सार्वजनिक गर्न सकिदैन ।’ समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई व्यक्तिगत रूपमा भारतीय लगानीकर्ताको नाम र विवरण बुझाउने भए पनि प्रतिवेदनमा उनीहरूको नाम उल्लेख नगर्ने बताएका छन् ।

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको म्याद सकिएपछि साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करीको थप अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) गर्ने वा के गर्ने भन्ने विषय अन्योलमा परेको छ ।

 

प्रतिक्रिया दिनुहोस