काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आज लाओससँग खेल्दै छ । नेपाल र लाओसबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले फिफा विन्डोको समय पारेर भुटान र लाओस टिमलाई आमन्त्रण गरी त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना गरेको हो ।नेपालले लाओससँग सन् २०१६ यता पहिलोपल्ट खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले लाओसलाई पेनाल्टी शुटआउटमा ३–० ले हराएको थियो । त्यसअघि नियमित समयमा खेल २–२ को बराबरी भएको थियो ।
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताबाटै नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले नेपाल टिमको जिम्मेवारी सुरु गर्दैछन् ।गत भदौमा अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि एन्फाले खुल्ला प्रतिस्पर्धाबाट एनेसलाई गत फागुन ११ गते नियुक्ति दिएको हो ।
छोटो समयमा उपलब्ध उत्कृष्ट खेलाडीहरू समेटेर नयाँ चुनौतीका लागि आफूहरू तयार रहेको प्रशिक्षक एनेसले बताएका छन् । उनले राष्ट्रिय टिममा ६ जना नयाँ भित्र्याएका छन् ।
मंगलबारको पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान किरण चेम्जोङले पनि छोटो तयारी समयका बाबजुद आफूहरू लाओसमाथि प्रभावशाली प्रदर्शन गर्न तयार रहेको बताएका थिए ।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले चैत्र १४ गते भुटानसँग खेल्नेछ । त्यसअघि, चैत्र ११ गते भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल चैत्र १७ गते हुनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र हरेक खेलको प्लेयर अफ द म्याचले २५० अमेरिकी डलर पुरस्कार पाउनेछन् । पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहयोग गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
प्रधानमन्त्री कपको उपाधिका लागि एपीएफ र सुदूरपश्चिम भिड्दै
प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि