‘उषा अनिरुद्ध’ लाई साहित्यिक पुरस्कार

सफल खबर संवाददाता

शनिबार, ३० असार २०७५, १९ : १५
‘उषा अनिरुद्ध’ लाई  साहित्यिक पुरस्कार

चितवन । चितवन साहित्य परिषद र नारायणी कला मन्दिर चितवनले आज जिल्लाका दुई श्रष्टालाई नगद सहित सम्मान गरेको छ ।
भानु जयन्तीको अवसरमा ‘चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार’बाट चितवन रत्ननगरका गजल समिक्षक केशवराज आमोदी र ‘चिसाप प्रतिभा पुरस्कार’बाट श्रष्टा पूर्णप्रसाद अधिकारीलाई सम्मान गरिएको हो ।

आमोदीलाई रु ५० हजार ४५ र अधिकारीलाई रु ११ हजार ४५ नगद सहित दोसल्ला ओढाएर  कदरपत्रले सम्मान गरिएको परिषदका अध्यक्ष सुरेन्द्र पौडेल, अस्तफलले जानकारी दिनुभयो । आमोदीको पौराणिक महाकाव्य ‘उषा अनिरुद्ध’का लागि सो पुरस्कार प्रदान गरिएको हो । प्राप्त कृतिहरुबाट छनोट गरिएको कृतिलाई उक्त पुरस्कार प्रदान गरिन्छ ।

परिषदले चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार’ २०७१ सालबाट दिंदै आएको छ । यसअघि बलराम अधिकारी, गोविन्दराज विनोदी र सिमा आभाष सो पुरस्कारबाट सम्मानित भैसक्नुभएको छ । ‘चिसाप प्रतिभा पुरस्कार’ भने २०५२ सालबाट वितरण गर्न थालिएको हो ।

पुरस्कार वितरण समोरहका क्रममा गजल समिक्षक आमोदीको व्यक्तित्व र कृतित्वका बारेमा साहित्यकार केदारनाथ खनाल र अधिकारीको बारेमा गायत्री श्रेष्ठले चर्चा गर्नुभएको थियो । जगन्नाथ पंडितले भानुभक्तको योगदानको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भानु प्रतिष्ठान काठमाडौका अध्यक्ष व्रतराज अचार्यले भानुभक्तले भाषिक एकिकरणमा महत्वपूर्ण योगदान दिएको भन्दै उहाँको योगदान कसैले भुल्न नहुनेमा जोड दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस